भक्तपुरका उत्कृष्ट करदाता सम्मानित
भक्तपुर । आन्तरिक राजश्व कार्यालय भक्तपुरले उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।
कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी कर तिरेका करदाता वेदालय कन्स्ट्रकसन प्रा.लि.मध्यपुर थिमि–२ तथा कार्यालयका सहयोगी ईश्वर थापालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका समापनका अवसरमा आज सम्मान गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर कन्स्ट्रकसनले तिरेको छ । धेरै कर तिर्ने ती कन्स्ट्रकसनका सञ्चालक जयराम अर्याल र कर्मचारी थापालाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले खादा ओढाएर तथा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिप कुमार गौतमले कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
गत आ.व. २०८०/८१ मा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार मध्ये ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार कस असुली भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको ८४ प्रतिशत हो । आगामी आ.व. २०८१/८२ मा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार उठाउने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाका व्यापारी व्यवसायीलाई करसम्बन्धी शिक्षा प्रदान गरेर उनीहरूबाट वास्तविक कर उठाउन पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यालयका प्रमुख कर अधिकृत गौतमले यस वर्ष आन्तरिक राजश्व विभागले तोकेको मापदण्डअनुसार उत्कृष्ट करदातालाई सम्मानित गरेको भन्दै आगामी दिनमा पनि उत्कृष्ट करदातालाई सम्मान गर्ने योजना रहेको जानकारी दिए ।