बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपियाँ तान्ने भएको छ । निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले आज २१ दिनका लागि उक्त तरलता प्रशोचन गर्ने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । पछिल्लो तथ्यांक अनुसार मंसिर १ गतेसम्म बैंकहरुले ६६ खर्ब ४० अर्ब रुपियाँ निक्षेप संकलन गर्दैगर्दा सोही अवधिमा यता जम्मा ५२ खर्ब ८७ अर्ब रुपियाँ मात्र कर्जा लगानी गर्न सकेका छन् ।
समीक्षा अवधिमा ७८.२८ प्रतिशत कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ७ खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) रहेको छ । तर कर्जाको माग नै नहुँदा केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको हो ।
सोही निरन्तरता स्वरुप केन्द्रीय बैंकले पछिल्लो पटक २१ दिनका लागि थप ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार यो आर्थिक वर्षमा मात्र पटकपटक गरी १० खर्ब ७७ अर्ब रुपियाँ बढी तरलता प्रशोचन गरिसकेको छ ।
केन्द्रीय बैंकले बजारमा तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने गर्छ भने अधिक तरलता हुँदा ठिक उल्टो रिभर्स रिपो अर्थात् निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्नेगर्छ ।