आजदेखि लागू भयो निर्वाचन आचारसंहिता

भक्तपुर न्यूज

२ मंसिर २०८१ १२:०६

आजदेखि लागू भयो निर्वाचन आचारसंहिता

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगका अनुसार आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नुरगराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

आचारसंहिताविपरीतका कार्य भए/गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ। आचारसंहिता उल्लंघन भएको पाइए कारबाही हुनेछ ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

क–कसलाई लाग्छ आचारसंहिता ?

१. नेपाल सरकार र नेपाल सरकारका मन्त्री

२. प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री

३. संवैधानिक निकाय र सो निकायका पदाधिकारी

४. नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी

५. स्थानीय कार्यपालिका र सोका सदस्य

६. सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी

७. सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी

८. सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी

९. राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन

१०. उम्मेदवार तथा सम्बन्धित व्यक्ति

११. राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि

१२. सार्वजनिक पद धारण गरेको व्यक्ति

१३. अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता

१४. पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,

१५. सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,

१६. निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी

१७. विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी

१८. मतदाता

१९. विकास साझेदार संस्था

२०. सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी

२१. मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी

२२. निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार

२३. वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार

२४. आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *