तीन दिने मध्यपुर थिमि महोत्सव हुने
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले तीन दिने मध्यपुर थिमि महोत्सव २०८१ आयोजना गर्ने भएको छ ।
‘पर्यटन विकासका लागि’ भन्ने नाराका साथ आगामी पुस १२ गतेदेखि १४ गतेसम्म महोत्सव आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले जानकारी गराएको हो ।
मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गर्ने लागिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शनी, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रर्वद्धन, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने तथा समय समयमा हुने ऐताहासिक जात्रा पर्वहरुको विषयमा जानकारी गराई पर्यटकको आगमन गराउनका लागि महोत्सव गर्न लागिएको हो ।’
महोत्सवमा मध्यपुर थिमिको झण्डै ७ सय ५० वटा सानाठूला मूर्त सम्पदा एवं एक सय भन्दा बढी अमूर्त सम्पदाका साथै संस्कृतिहरु, परम्परागत खेलहरु, पेशाहरु, स्थानीय जीवनशैली, नेवारी परिकार, साँस्कृतिक प्रदर्शनहरु, व्यापारिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम हुने नगरप्रमुख श्रेष्ठले बताए ।
महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख श्रेष्ठको संयोजकत्वमा महोत्सव मूल समारोह समिति गठन गरिएको छ । यस्तै, सल्लाहकार समिति, महोत्सव सञ्चालन समिति लगायत ६ वटा क्षेत्रगत समिति र उक्त क्षेत्रगत समितिअन्तर्गत १० वटा विषयगत उपसमितिहरु गठन गरिएको छ ।
महोत्सवका लागि नगरपालिकाले करिब २ करोडको बजेट व्यवस्थापन गरेको छ । महोत्सवलाई करिब ५ लाख स्वदेशी तथा विदेशी पर्यटकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मध्यपुर थिमिलाई गन्तव्यको रुपमा विकास गर्न वि.सं. २०५५ पहिलो पटक मध्यपुर महोत्सव गरिएको थियो भने त्यसपछि दोस्रो पटक वि.सं. २०५८ र तेस्रो पटक वि.सं. २०६१ मा गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।