विचाराधीन विधेयक पेश गर्न सभामुख घिमिरेको निर्देशन
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएको छ । सिहंदरबारमा रहेको सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले निर्देशन दिएको हो ।
बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिए । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राखेको थियो । सभामुख घिमिरेले विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेको हो ।