ललितपुर महानगरलाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौँ : मेयर महर्जन
काठमाडौं । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएको छ ।
ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियानको आज शुभारम्भ गर्दै मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि चार मिनेटभित्र दमकललगायतका सामग्री पुर्याई सक्नेगरी योजना तय गरिएको बताए ।
मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरू राम्रोसँग अघि बढाएको दाबीसमेत गरेका थिए । उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि चार वटा सबस्टेशन बनाउने गरी अध्ययन भइरहेको र त्यो कामलाई चालू आर्थिक वर्षबाटै शुरू गर्ने जानकारी दिए ।
मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रभित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै पालिकालाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको बताए ।