श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले फिर्ता लिए नाम
काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय गरेको थिएन।
उनले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सकेका थिएनन्। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन। भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएका छन्।
सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ। उक्त बैठकअघि नै उनले आफ्नो नाम फिर्ता लिएको समितिमा जानकारी गराएका हुन्। स्नातक पास गरेको प्रमाण पत्र समितिले माग गरेको थियो। केही सांसदहरूले भट्टराईको शैक्षिक प्रमाण पत्रमा पनि प्रश्न उठाएका थिए।
सुनुवाइ समितिले भट्टराईको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो। आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले केही निर्णय भएको थिएन।
भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए। यसअघि समितिले १६ जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरिसकेको छ।