मुटुले कसरी शरीरमा रक्त प्रवाह गर्छ ?
काठमाडौं । मुटु शरीरको मुख्य अङ्ग हो । यसको मुख्य काम शुद्ध रगत शरीरका सबै अङ्गमा आपूर्ति गर्नु हो । किनकि मुटुले रगत पम्प गर्ने काम गर्छ । यस प्रक्रियामा मुटु खुम्चिने र फुक्ने हुन्छ । यस कार्यमा अवरोध आएमा हृदयरोगको जोखिम बढ्छ ।
हृदय मार्फत रक्त प्रवाह
मुटु एक शक्तिशाली मांसपेशीयुक्त अङ्ग हो, यसको आकार एक मुठ्ठी बराबरको हुन्छ । हरेक क्षण यसले शरीरमा पोषक तत्त्व र अक्सिजनयुक्त रगत पम्प गर्छ । प्रत्येक मुटुको धड्कनसँगै मुटुले रक्तसञ्चार प्रणाली मार्फत रगत पठाउँछ । मुटुबाट पम्प गरिएको रगतले शरीरभरिका अन्य तन्तुहरूमा अक्सिजन र पोषक तत्त्वहरू पुर्याउँछ । यसले तन्तुहरूबाट कार्बन डाइअक्साइड जस्ता फोहोर उत्पादनहरू पनि हटाउँछ । यसरी मुटुबाट रक्त सञ्चालन भइरहेको हुन्छ ।
रक्तसञ्चार प्रणाली
रक्तसञ्चार प्रणाली रक्त वाहिकाहरूको नेटवर्क हो । रक्तनलीहरु शरीरको वरिपरि रगत बोक्ने सानो ट्युबहरू हुन् । मुटुमा रगत प्रवाह तीन प्रकारका रक्त नलीबाट हुन्छ । जसमा धमनीहरूले अक्सिजनयुक्त रगतलाई हृदयबाट टाढा लैजान्छ । कोषिकाहरु सानो र पातलो रक्तवाहिकाहरू हुन्, जुन शिराहरू र धमनीहरूबीच जोडिएका हुन्छन् । शिराहरूले शरीरको तन्तुबाट कार्बन डाइअक्साइडयुक्त रगतलाई हृदयमा फर्काउँछ ।
मुटुबाट रगत कहाँ बग्छ ?
मुटु आफैंमा रक्तनलीहरूबाट पोषित मांसपेशीहरू मिलेर बनेको हुन्छ । मुटुमा चारवटा कोठा हुन्छ । ती कोठाहरू घरको कोठा जस्तै हुन्छन् । मुटुको रेखाचित्र हेर्दा यी कोठाहरू माथिल्लो र तल्लो, दायाँ र बायाँ गरेर चारवटा कोठामा विभाजित हुन्छन् ।
एट्रिया मुटुका माथिल्ला कोठाहरु हुन् । एट्रियम पनि दायाँ र बायाँमा छुट्याइएको हुन्छ । भेन्ट्रिकल्स मुटुका तल्ला कोठाहरु हुन् । यसलाई दाहिने भेन्ट्रिकल र बायाँ भेन्ट्रिकल छुट्याइएको हुन्छ ।
तल्लो र माथिल्लो कोठाहरूको बीचमा मुटुको भल्बहरु हुन्छ । यी भल्बहरु मुटु खुम्चिने र फुक्ने क्रममा रक्तप्रवाह हुँदा बन्द र खुला हुने हुन्छन् । यिनीहरूले रगतको प्रवाहलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
एओर्टिक भल्ब : यसले बायाँ भेन्ट्रिकल र मुख्य धमनी (एओर्टा) लाई जोड्छ । यो शरीरभरि रगत बोक्ने ठूलो धमनी हो ।
माइट्रल भल्ब : यसले बायाँ एट्रियम र बायाँ भेन्ट्रिकल जोड्छ ।
पल्मोनरी भल्ब : यसले दाहिने भेन्ट्रिकल र फोक्सोमा रगत पुर्याउने धमनीलाई जोड्छ ।
ट्राइकस्पिड भल्ब : दायाँ एट्रियम र दायाँ भेन्ट्रिकल जोड्छ ।
मुटु मार्फत रक्त प्रवाह कसरी नियन्त्रण गरिन्छ ?
मुटुको दायाँ र बायाँ छेउले शरीरभरि उचित रक्त प्रवाह सुनिश्चित गर्न एकसाथ काम गर्छ । मुटुको मध्यम भागबाट रगतको प्रवाह चरणबद्ध रूपमा हुन्छ ।
दायाँतर्फ
शरीरभरिबाट कम अक्सिजन भएको रगत दुईवटा ठूला नसाहरु (इन्फेरियर भेनाकाभा र सुपेरियर भेनाकाभाबाट दाहिने कोठा (एट्रियम) मा प्रवेश गर्छ । रगतलाई दाहिने एट्रियमबाट दाहिने भेन्ट्रिकलमा जाने क्रममा अनुमति दिन ट्राइकस्पिड भल्ब खुल्छ ।
जब दाहिने भेन्ट्रिकल भरिन्छ, यो संकुचित हुन्छ, यसबेला ट्राइकस्पिड भल्ब बन्द हुन्छ र पल्मोनरी भल्ब खुल्छ । रगत पल्मोनरी धमनीबाट फोक्सोमा पुग्छ, जहाँ कार्बन डाइअक्साइड फ्याँकी अक्सिजन प्राप्त गर्छ ।
बायाँतर्फ
अक्सिजनयुक्त रगत फोक्सोबाट पल्मोनरी शिराहरू हुँदै बायाँ एट्रियममा आउँछ । बायाँ एट्रियमबाट बायाँ भेन्ट्रिकलमा रगत पठाउन माइट्रल भल्ब खुल्छ ।
जब बायाँ भेन्ट्रिकल भरिन्छ, यो संकुचित हुन्छ, जसले माइट्रल भल्ब बन्द हुन्छ भने एओर्टिक भल्ब खुल्छ । मुटुले एओर्टिक भल्भ मार्फत रगत शरीरका विभिन्न भागतिर पठाउँछ ।
मुटुले कति रगत पम्प गर्छ ?
मुटुले हरेक दिन करिब २ हजार ग्यालेन बराबर रगत पम्प गर्छ । त्यो ८ बाइ १० फिटको स्वीमिङ पुल भर्न पर्याप्त हुन्छ । यो प्रतिदिन लगभग एक लाख पटक धड्कन्छ । लगभग ७९ वर्षको औसत आयुमा मुटु लगभग २.९ बिलियन पटक धड्किन्छ ।
मुटुको माध्यमबाट हुने रक्त प्रवाह केही स्वास्थ्य अवस्थाहरूले प्रभावित हुनसक्छ ।
एरिथमिया
मुटुको चाल अनियमित हुनु एरिथमिया हो । यसको अर्थ हृदयको धड्कन सामान्य चालले चलिरहेको छैन । यो अवस्थाले हृदयबाट रक्त प्रवाहलाई असर गर्न सक्छ ।
हार्ट फेलियर
हृदयको मांसपेशीमा क्षति हुँदा हार्ट फेलियर हुन्छ । जसले गर्दा मुटुले शरीरको बाँकी भागमा रगत पम्प गर्न गाह्रो हुन्छ र मुटुको माध्यमबाट रक्त प्रवाहलाई असर गर्छ ।
कोरोनरी आर्टरी डिजिज
कोरोनरी आर्टरी डिजिजमा मुटु आफैंलाई अक्सिजनयुक्त रगत आपूर्ति गर्ने धमनीहरूमा प्लाक जम्मा हुन्छ । जसले मुटुको मांसपेशीमा रगत पुर्याउने धमनीहरूलाई कडा र साँघुरो पार्छ । जसकारण मुटुको रक्तसञ्चार प्रभावित हुन्छ ।
हृदयघात
कोरोनरी धमनीमा अचानक अवरोध आउँदा मुटुको मांसपेशीमा अक्सिजनको आपूर्ति बन्द हुन्छ । जसकारण मुटुको रक्तसञ्चारमा नराम्रो असर पर्छ ।
मुटुको जन्मजात समस्या
गर्भावस्थामा मुटु विकसित हुने क्रममा मुटुको भित्री आकृति तथा रक्तनलीमा समस्या भई जन्मिएको अवस्थालाई जन्मजात मुटुरोग भनिन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई ‘कन्जेनाइटल हार्ट डिफेक्ट’ भनिन्छ । यस्तो समस्यामा पनि रक्तसञ्चारमा प्रभाव पर्छ ।
मुटुको स्वास्थ्य सुधार गर्न के गर्ने ?
– तौल नियन्त्रण गर्ने र स्वस्थ वजन कायम राख्ने
– फलफूल, सागसब्जी र सम्पूर्ण अन्न लगायत पोषक तत्त्वले भरिपूर्ण तथा सन्तुलित खाना खाने
– साप्ताहिक रूपमा लगभग १५० मिनेट एरोबिक व्यायाम गर्ने
– चुरोट, रक्सी सेवन नगर्ने
– योग र ध्यान गरेर तनाव व्यवस्थापन गर्ने ।