झुक्केर पनि यी खानेकुराहरु फ्रिजमा नराख्नुहोस् !
काठमाडौं । गर्मी समयमा खाना निब्रिग्रियोस भनेर फ्रिजको प्रयोग गरिन्छ । तर, कतिपयले भएभरका सबै खानेकुरा फ्रिजमा हाल्ने गरेका छन् । यसले फाइदा भन्दा पनि बेफाइदा गर्ने सम्भावना बढी हुन्छ ।
फ्रिजमा के कुरा राख्न हुन्छ र के राख्न हुन्न भन्ने कुरा राम्ररी बुझेर मात्र फ्रिजको प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदाजनक हुन्छ । अन्यथा फ्रिजमा राखेको खानेकुरा विषमा परिणत हुन पनि सक्छ ।
फ्रिजमा राख्न नहुने खानेकुराहरु :
दही : फ्रिजमा राखेर दही जमाउनु उचित हो । तर, खान योग्य भैसकेको दही पुनः फ्रिजमा राख्नु गलत हुन्छ । किनभने जमिसकेको दहीलाई थप फ्रिजमा राख्दा यसको स्वाद विग्रने वा यसमा भएको पोषक तत्व पनि ह्रास हुने हुन्छ ।
दुध : दुध फ्रिजमा राख्नु राम्रो मानिँदैन । यदि दुध खानेकुरा पकाउन वा कुनै परिकार बनाउन प्रयोग गर्ने हो भने चाँहि फ्रिजमा राख्दा पनि हुन्छ तर पिउने दुध चाँहि फ्रिजमा राख्न उपयुक्त मानिँदैन ।
तुलसी : तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ। तुलसी पानीमा राख्नुपर्छ।
आलु : चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ। आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ।
लसुन र प्याज : आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ। लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ।
टमाटर : फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ । फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ । आधा काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १/२ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ ।
फ्राइ खाना : फ्राइ गरेका क्रिप्सी र क्रन्ची खानेकुराहरु पनि फ्रिजमा राख्नु राम्रो मानिँदैन । किनकी फ्रिजमा राखेपछि यिनीहरुको स्वाद नै हराउँछ । फ्राइड चिकेन वा फ्रेन्च फ्राइज फ्रिजबाट झिकेर खानु जस्तो नमज्जा केही पनि हुँदैन ।
पनिर : पनिरका लागि फ्रिज उपयुक्त ठाउँ होइन । खासगरी पकाएको पनिर र त्यसबाट बनेका खानेकुराहरु फ्रिजमा राख्दा स्वादहिन हुन्छ ।
काँचो तरकारी वा फलफूल : काँचो तरकारी वा फलफूलका लागि फ्रिज उचित ठाउँ होइन । यसले ताजा खानेकुरा फलफूलको स्वाद विगारिदिन्छ ।
अण्डा : अण्डा पनि फ्रिजमा राख्नु हुँदैन । अण्डालाई फ्रिजमा राख्दा यसको बाहिरको भाग फुट्ने वा अनेक समस्या आउँछ । त्यतिमात्र होइन भित्रको झोल पनि विग्रन सक्छ ।
जैतुनको तेल : जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन। कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ।
रोटी : धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन्। फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ।
कफी : कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ।
मह : यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ। मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ।
अचार : अचारमा भिनेगार धेरै हुन्छ। यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ। यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ।