बढी नुन खाँदा स्वास्थ्यमा पर्न सक्छ यस्ता असरहरू
काठमाडौं । केही दिन नुन खान पाइएन भने मान्छे झोक्राउन थाल्छ । शरीरमा आलस्यता बढ्दै जान्छ । खाना मिठो लाग्नै छाड्छ । कतिपय मानिसहरु नुन कम भएको तरकारी खानै सक्दैनन् । भागमा थपेर भएपनि नुन खान्छन् । तर, नुन भन्ने चिज ठिक्क खानु पर्छ । विश्वभर धेरैजसो मानिसहरू आवश्यकता भन्दा धेरै नुन खाइरहेका छन् । यसको असर उनीहरूको स्वास्थ्यमा पनि परिरहेको छ ।
धेरै नुन खानु प्राणघातक हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार अधिकांश मानिसहरू दैनिक रूपमा खानु पर्नेभन्दा दोब्बर धेरै नुन खाइरहेका छन् । यो निकै खतरनाक साबित हुन सक्ने डब्ल्यूएचओको भनाई छ । तर, धेरैजसो मानिसहरूलाई आफूले खानु पर्नेभन्दा धेरै नुन खाइरहेको छु भन्ने नै थाहा छैन । तपाईले पनि खानामा धेरै नुन त खाइरहनु भएको छैन ? छ भने यो बानीलाई तत्कालै फेर्नुस् ।
डब्ल्यूएचओका अनुसार मान्छेलाई दैनिक ५ ग्राम अर्थात् एक चिया चम्चा नुनको आवश्यकता पर्छ । यो भनेको २३०० मिलिग्राम सोडियम हो । नेपालीहरुले सरदर दैनिक १० ग्राम नुन खाने गरेको अध्ययनले देखाएको छ। जुन चाहिनेभन्दा दोब्बर हो ।
नुनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व सोडियम हो । यो हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ । मानव शरीरमा पानीको सही स्तर सिर्जना गर्नदेखि सोडियमले सबै अङ्गहरूमा अक्सिजन र अन्य पोषक तत्त्वहरू पुर्याउन मद्दत गर्छ । यति मात्र होइन, सोडियमले हाम्रो स्नायुमा बिजुली झैँ स्फूर्ति हाल्ने काम गर्छ । तर, ऐतिहासिक रूपमा नुनलाई कमै खान सल्लाह दिइँदै आएको छ ।
नुन धेरै खाँदा तपाईलाई उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ, यी रोगको खतरा बढ्न सक्छ ।
यस्तै, अधिक नुन प्रयोगले मस्तिस्कमा रगतको प्रवाहमा नकारात्मक असर पर्न सक्छ । दिमागको कुनै नसा फुट्ने खतरा पनि हुन्छ । धेरै नुन खाए क्यान्सर जस्तो गम्भीर रोगको जोखिम पनि बढ्छ ।
शरीरमा नुनको मात्रा बढी भए रक्त प्रवाह बढ्छ । यसले मुटु र धमनिमा अतिरिक्त दबाब दिएर स्वास्थ्यमा नकरात्मक असर पुर्याउँछ । धेरै नुन खाँदा हर्टअट्याकको सम्भावना पनि हुन्छ । धेरै नुन खाँदा मिर्गौलाको पत्थरी हुने सम्भावना पनि हुन्छ । बढी नुन खाँदा पिसावमा क्याल्सिएमको मात्रा बढ्छ । क्याल्सिएमको मात्रा बढी भयो भने मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ । यदि मिर्गौलामा पत्थरी भयो बुझ्नुस् की तपाई बढी नुन सेवन गर्नुहुन्छ । बढी नुन सेवन गर्दा मोटोपन बढ्छ । एजेन्सी