भीड नियन्त्रणमा हतियारको प्रयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । भीड नियन्त्रणका गर्न मेटल बुलेट जस्ता प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज सुनुवाइ हुँदैछ । प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार प्रयोग गरेकोविरूद्ध बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइका आज न्यायाधीश कुमार चुडालको इजलासमा पेशी परेको छ ।
बालकुमारी घटनापछि प्रहरी प्रमुख वसन्त कुँवर आफैँले भीड नियन्त्रणमा म्याद गुज्रेको हतियारको प्रयोग गरेको स्विकारेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रदर्शनको क्रममा भीड नियन्त्रणमा प्रयोग हुने घातक हतियारको प्रयोगलाई प्रतिबन्धित गर्न माग गरेका छन् ।
भीड नियन्त्रणका लागि अत्यधिक बल प्रयोग एवं हिंसात्मक साधनको प्रयोगलाई वर्जित गर्न पनि उनले माग गरेका छन् । व्यवस्थापनका लागि खटिने प्रहरीलाई अहिंसात्मक तौरतरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने माग छ ।
अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुङ्गो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियार प्रयोग नगर्नू नगराउनू भनी अन्तरिम आदेश समेत माग गरेका छन् ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार