चौथो टाइगर कपमा आज महिलातर्फ सेमीफाइनलका खेलहरु हुँदै

भक्तपुर न्यूज

४ माघ २०८० ६:००

चौथो टाइगर कपमा आज महिलातर्फ सेमीफाइनलका खेलहरु हुँदै

काठमाडौं । चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज महिला तर्फका सेमिफाइनल खेलहरु हुँदै छन्। टाइगर ग्रुपअफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ मा रहेको गण्डकी प्रदेश र त्रिभुवन आर्मीबिचको खेल यसअघि स्थगित भएका कारण महिला तर्फका सेमिफाइनलका खेलहरु मात्र हुने भएका हुन्।

महिलातर्फ समूह ‘ए’ बाट एपिएफ विजेता तथा पुलिस उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह ‘बी’ बाट चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड समुह विजेता र त्रिभुवन आर्मी उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।

महिला समूह ‘ए’ तर्फ बुधबार एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेता बनेको हो। एपिएफले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ ले हराएको हो । उता समूह ‘बी’ तर्फ न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा हराएको हो। न्यु डायमण्डले २५–१७, २५–१८ र २५–१६ ले हराएको हो।

पुरुष समूह ‘बी’ तर्फ नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३–१ को सेटमा हराएपनि अन्तिम चारमा भने पुग्न सकेन। समूहमा रहेका पुलिस, श्रीलंका आर्मीसँगै एपिएफको समान तीन–तीन अंक रह्यो।

बराबरी अंक भएपछि प्राप्त गरेको अंक र गुमाएको अंकको आधारमा पुलिस बाहिरिदा एपिएफ विजेता तथा श्रीलंका आर्मी उपविजेता भयो । पुलिस एपिएफसँग सोझो सेटमा हारेको थियो । उता श्रीलंकाले पनि एपिएफलाई ३–१ को सेटमा हराएको थियो।

पुरुष समूह ‘ए’ को उद्घाटन खेलमा प्रकाश नपुग भएपछि स्थगित हुँदा खेलको टुंगो लागेको छैन्। गण्डकी प्रदेश, त्रिभुनव आर्मी र हेल्प नेपाल स्पोट्र्स क्लब रहेको उक्त समूहमा हेल्प नेपालले दुई खेल खेल्दै चार अंक बटुलेको छ।

बुधबार नै गण्डकी प्रदेशले हेल्प नेपाललाई ३–२ को सेटमा हराएको हो । जितसँगै गण्डकीले २ अंक प्राप्त गरेको छ । यो समूहबाट हेल्प नेपाल अन्तिम चारमा प्रवेश गरिसकेको छ।

हालसम्म समूहको शीर्षस्थानमा रहेको हेल्प नेपाल समूह विजेता वा उप विजेता बन्ने टुंगो भने गण्डकी र आर्मी बीचको खेलले निर्धारण गर्नेछ। उता आर्मीलाई सोझो सेटको जित आवश्यकता रहेको छ। यदि आर्मीले ३–२ को सेटमा गण्डकीलाई हरायो भनेपनि आर्मी बाहिरिनेछ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *