पाँच वर्षे बीए एलएलबी विस्तार गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कानुन संकायले आंगिक क्याम्पसहरुमा पाँच वर्षे बीए एलएलबी कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ । कानुन विषयमा विद्यार्थीको रुची र आकर्षण बढ्दै गएकाले आंगिक क्याम्पसमा बीए एलएलबी कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको कानुन संकायका डीन कृष्णप्रसाद बस्यालले बताए ।
विद्यार्थीको माग अनुसार बीए एलएलबी कार्यक्रम सञ्चालन गर्न शिक्षक अभाव हुने भएकाले आंगिक क्याम्पसहरुमा शिक्षक व्यवस्थापन गर्न डीन कार्यालयले आग्रह गरेको छ । तीन वर्षे एलएलबी कार्यक्रम सञ्चालन गरिरहेको क्याम्पसहरुलाई आवश्यक शिक्षकहरुको पदपूर्ति गर्न अनुरोध गरेको डीन बस्यालले जानकारी दिए ।
हाल त्रिविले पाँच वर्षे एलएलबी नेपाल ल क्याम्पस, काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा र सम्बन्धन प्राप्त नेपाल नेशनल कलेज सानेपा ललितपुरमा सञ्चालन गरिरहेको छ । त्यस्तै तीन वर्षे एलएलबी काठमाडौंको नेपाल ल कलेज, पोखराको पृथ्वीनारायण क्याम्पस, धरान बहुमुखी क्याम्पस, राजविराज, बुटवल, वीरगन्जमा सञ्चालन गरिरहेको छ ।
प्रकाशित मितिः २०८० कार्तिक २० सोमबार