बालसुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु, हत्याको आशंका
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका छन् ।
अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए । प्रारम्भिक अनुसन्धानमा शङ्कास्पद नदेखिए पनि पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाउने उनले बताए ।
घटना छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको भक्तपुरका प्रजिअ खगेन्द्रप्रसाद रिजालले बताए । छानबिन समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक र महिला बालबालिका मन्त्रालयका अधिकृत सदस्य छन् । मृतकका मामा सन्तोष विष्टले घटना शङ्कास्पद रहेको भन्दै आफ्नो भान्जालाई ‘हत्या’ गरिएको दाबी गरेका छन् ।
प्रकाशित मितिः २०८० भदौ ०३ आइतबार