भक्तपुर नगरपालिकाद्वारा ७० लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर न्यूज

२७ साउन २०८० १०:३७

भक्तपुर नगरपालिकाद्वारा ७० लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर । भक्तपुर नगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई शनिबार एक कार्यक्रमबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ ।

 छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण १२७ जना विद्यार्थीहरुलाई रु. ७० लाख बराबरको छात्रवृत्ति सिफारिस पत्र आज  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वितरण गरेका हुन् । 

 प्रजापतिले विद्यार्थीहरूले आफ्नो योग्यता र क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गरी देश र जनताको सेवामा समर्पित भएर लाग्न मार्गनिर्देश गरे ।

भक्तपुर नपाले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुको अर्थ उनीहरुको शैक्षिक विकासमा लगानी गर्नु रहेकाे  बताउँदै  उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई भक्तपुरमा उत्कृष्ट कलेजहरु सञ्चालन गरी दक्षता हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ ।  शिक्षालाई व्यापार बनाउनुहुँदैन र मेडिकल क्षेत्रलाई माफिया मुक्त बनाउनुपर्ने उनकाे धारणा  छ ।

 नपाले छात्रवृत्ति सँगसँगै शैक्षिक ऋणको व्यवस्था गरी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याइरहेको बताउँदै उनले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले अनुशासिन र इमानदार ढंगले अध्ययन गरी समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा छात्रवृत्ति वितरण समितिका सदस्य एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शिक्षामा पनि विभिन्न किसिमका विकृतिहरु भित्रिरहेकोतर्फ विद्यार्थीहरु सजग हुनुपर्ने बताउँदै नयाँ पुस्ताका विद्यार्थीहरु सभ्य र सुसंस्कृत भई देश र समाजको हितमा काम गर्नुपर्ने बताए  ।

त्यस्तै भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले विद्यार्थी जीवनमा छात्रवृत्तिको धेरै ठूलो भूमिका रहने बताउँदै विद्यार्थीहरुले आफ्नै देशको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्न प्रेरित गरे ।

भक्तपुर नपाले शैक्षिक वर्ष २०८०।८१ को लागि व्यवस्थापन संकायतर्फ ६७ जना, विज्ञानतर्फ ३८ जना, मानविकीतर्फ १० जना शिक्षातर्फ ६ जना र कानुनतर्फ ६ गरी जम्मा १२७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *