डेंगुले ७ जनाको मृत्यु, सात हजार सात सय ३३ जनामा संक्रमण
काठमाडौं । नेपालमा सात हजार ७३३ जनामा डेंगु सङ्क्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार सात सय ३३ जना सङ्क्रमित भएको जानकारी दिए ।
सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा. मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको बताए । उनले ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जति बेला पनि डेंगु सर्न सक्ने बताए । हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए ।
डा. मरासीनिले भने, ‘गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरू रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ । समुदायमा धेरै केस भएको हाम्रो अनुमान हो । डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो ।’
स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको बताए । डा. पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
सचिव डा. पोखरेलले भने, ‘डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो निःशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेस्ट गर्नुपर्ने हो । टेस्टमा शुल्कको एकरूपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । प्राइभेट अस्पतालहरूसँग पनि समन्वय गरेर टेस्टमा एकरूपता ल्याउने कोसिसमा छौँ । कहीँ पाँच सय पचास रुपैयाँ कहीँ नौ सय रुपैंया पनि छ । नेपाल सरकारका केही अस्पतालमा डेंगु लागेको शंका लागेमा गर्नुपर्ने टेस्ट केही निःशुल्क पनि गरिरहेका छौँ ।’
प्रकाशित मितिः २०८० साउन २२ सोमबार