जाजरकोटमा जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त
जाजरकोट । जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै परिवारका छोराको मृत्यु भएको छ भने आमा सिकिस्त बिरामी परेकी छिन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ ।
आमाछोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरे ।
प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार