भक्तपुरमा बिद्यार्थी, शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम
भक्तपुर । वागीश्वरी कलेज तुमचो, कमलविनायकमा अध्ययनरत बिद्यार्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम सुरु गरिएको छ ।
विद्यार्थीहरुलाई उद्यमशीलताको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा वागीश्वरी कलेजले कार्यक्रम आयोजना गरेको हो ।
विश्वविद्यालय आयोग अन्तर्गत उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रममा व्यवस्था रहेको उद्यमशीलता सहयोग कार्यक्रमका लागि नेपालभरबाट १८ वटा कलेजहरु छनौट भएका छन् ।
।
वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थी र ४० वर्षभन्दा कम उमेरका शिक्षकहरुलाई यस अघि नै उद्यमशीलता प्रस्ताव माग गरिएकोमा आएका प्रस्तावहरुमध्ये ३० जनालाई छनोट गरी यो तालिम सञ्चालन गरिएको हो ।
उद्यमशील बनाउने लक्ष्यका साथ अगाडि बढेको उद्यमशीलता कार्यक्रमको चौथौं तहको पहिलो तालिमलाई गम्भीरतापूर्वक ग्रहण गर्न तालिम संयोजक अबिना श्रेष्ठले आग्रह गरे ।
तालिमको पहिलो दिनका स्रोत व्यक्ति ‘साईनो र मौरी भ्यन्चर’ का उद्यमी तथा व्यवसायी संस्थापक अमृत बिष्टले उद्यमी के हो ? कसरी उद्यमी बन्ने र यसको प्रकृयाबारे प्रशिक्षण दिएका थिए ।
यस उद्यमशीलता सहयोग कार्यक्रमअन्तर्गत उद्यम शुरु गर्न छनौटमा परेका युवा, शिक्षक, कर्मचारी र विद्यार्थीलाई बीउ पूजीका रुपमा सानो उद्यमको लागि ५ लाख रूपैयाँ, मध्यम उद्यमको लागि २० लाख रूपैयाँ र ठूलो उद्यमको लागि ४० लाख रूपैयाँसम्म प्रदान गरिने वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले जानकारी दिए ।
तालिममा सहभागी एक विद्यार्र्थीले तालिम फलदायी रहनुका साथै नेपालमै सम्भावना खोजी उद्यमशील हुन उत्प्रेरित गरेको बताए ।
उद्यमशील सहयोग कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस तालिमका ६ वटा मोडुललाई नौ दिन भाग लगाएर प्रशिक्षार्थीलाई प्रशिक्षण गर्ने बताइएको छ ।