शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार : प्रमुख प्रजापति

भक्तपुर न्यूज

२ जेठ २०८० ८:५५

शिक्षा समाज रुपान्तरणको महत्वपूर्ण आधार : प्रमुख  प्रजापति
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा समाज रुान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन् ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक-गुठी र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलामा सम्बोधन गर्दै उनले विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्ने महत्वपूर्ण जग विद्यालय भएको हुँदा शिक्षामा सुधार ल्याउन विद्यालय तहदेखि नै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
देशभर जनस्तरबाट शैक्षिक संस्थाहरु सञ्चालन भएमा गरिब जनताका छोराछोरीहरु महँगे विद्यालय, कलेजहरुमा गएर पढ्नुपर्ने बाध्यताको अन्त्य हुने बताउँदै २१ औं शताब्दीका नागरिकले आफूलाई हरेक विषयमा अद्यावधिक गराइ राख्नुपर्ने बताए ।
विद्यालयलाई योग्यता, इमानदरिता सँगै देशभक्तिको भावनाबाट पनि शिक्षित गर्नुपर्ने बताउँदै उनले भक्तपुर नपाले भनपाभित्र सञ्चालित विद्यालयको नियमित अनुगमनका लागि प्राविधिक तथा अनुगमन समिति समेत गठन गरिसकेको अवगत गराए ।
विश्वविद्यालयहरुलाई राजनैतिक भागबण्डामा पदाधिकारीहरु नियुक्ति गर्ने, अनयिमितता र आर्थिक लेनदेनको थलो बनाएकै कारण कलेज र विश्वविद्यालयहरुप्रति विद्यार्थीहरुको आकर्षण घट्दो क्रममा रहेको प्रजापतिले बताए ।
उनले नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको क्रममा विदेशिने क्रम बढेसँगै यहाँका कलेजहरू विस्तारै बन्द हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् नगर शिक्षा समितिका सदस्य उकेश कवांले भक्तपुरको शैक्षिक गुणस्तर अझ माथि उठाउने भक्तपुर नपाको मुख्य उद्देश्य भएको बताउँदै घोकन्ते विद्या होइन, व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले विद्यालय व्यवस्थापन समितिले विद्यालयको नीतिगत निर्णय र सहजकर्ताको भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सीमित राखी उनीहरुमा अतिरिक्त प्रतिभा प्रस्फुटन गर्ने अवसर दिनुपर्ने बताए ।
भक्तपुर नपा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक-गुठी र संस्थागत विद्यालयको व्यवस्थापनको काम, कर्तव्य र अधिकार र नपाको शैक्षिक अवस्थाबारे प्रस्तुतीकरण देखाए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।  भनपाको आयोजनामा भएको उक्त भेलामा ९० वटाभन्दा बढी विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *