यसवर्षको एसइई आजबाट सम्पन्न, नतिजा असार तेश्रो साता सार्वजनिक गर्ने

भक्तपुर न्यूज

२९ चैत २०७९ १०:३२

यसवर्षको एसइई आजबाट सम्पन्न, नतिजा असार तेश्रो साता सार्वजनिक गर्ने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सकिएको छ। यही चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षामा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।

देशका ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रसहित जापानमा १ गरी २ हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए। उनका अनुसार यस वर्ष परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी थिए।

यस वर्षको एसइईमा सहभागी हुन विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार ३ सय ६४ विद्यार्थी घटेर ४ लाख ८४ हजार २ सय २७ भएका थिए।

नेपालबाट रोजगारीका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यस वर्ष जापानबाटै परीक्षा दिएका छन्। जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरु परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी र सबैभन्दा थोरै कर्णाली प्रदेशबाट ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी भएका थिए।

प्राविधिक धारतर्फ करिब १५ हजार, संस्कृतमा पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ जना र ५० जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। कार्यालयले एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने योजना बनाएको छ।

प्रकाशित मितिः २०७९ चैत्र २९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *