त्रिविको लापर्वाही : स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक नहुँदै दोस्रो वर्षको परीक्षा हुने

भक्तपुर न्यूज

२२ असार २०७९ ८:४९

त्रिविको लापर्वाही : स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक नहुँदै दोस्रो वर्षको परीक्षा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक नहुँदै दोस्रो वर्षको परीक्षा सुरु हुने भएको छ। पहिलो वर्षको परीक्षा सम्पन्न भएको करिब ११ महिना बितिसक्दा पनि नतिजा आएको छैन। पहिलो वर्षको परीक्षामा सहभागी तिनै विद्यार्थीले साउन १ बाट हुने दोस्रो वर्षको परीक्षा कुरिरहेका छन्।

दोस्रो वर्षको परीक्षा आउन ८ दिन मात्र बाँकी रहँदा प्रथम वर्षकै नतिजा विद्यार्थीले नपाएका हुन्। यसलाई लिएर कतिपयले सामाजिक सन्जालमा आक्रोस पोखेका छन्। ‘अर्को वर्षको परीक्षा आइसक्यो। पोहोरकै रिजल्ट आएको छैन। यस्तो द्विविधाका बीच कसरी राम्रोसँग परीक्षा दिन सकिन्छ?’ पशुपति बहुमुखी क्याम्पस दोस्रो वर्षमा अध्ययनरत वासुदेव काफ्ले भन्छन्।

यसरी नतिजा ढिलो निकाल्ने अनि परीक्षा गर्न हतारिने त्रिविको पुरानै रोग हो। गत वर्ष मात्र त्रिविले बीबीएस तेस्रो वर्षको नतिजा नआउँदै चौथो वर्षको परीक्षा सञ्चालन गरेको थियो। चौथो वर्षको परीक्षा सुरु गरिसक्दा परीक्षा भएको एक वर्ष बितिसक्दा पनि तेस्रो वर्षको नतिजा निकालेको थियो। अहिले दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको हकमा उही समस्या दोहोरिएको छ।

सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा आउनुपर्ने हुन्छ। तर करिब एक वर्षसम्म नतिजा ननिकालेर अर्को वर्षको परीक्षा लिन हतारिनु विद्यार्थीमाथि त्रिविको लापर्वाही देखिन्छ। यसबारे प्रश्न गर्दा त्रिविका सहायक परीक्षा नियन्त्रक घनश्याम ठाकुर पन्छिन खोजे। ‘हामी काम गरिरहेका छौं। अझै केही समय नतिजा आउँदैन,’ उनले भने।

प्रकाशित मितिः २०७९ असार २२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *