सबै विद्यालय आज बुधबारदेखि ६ दिनसम्म बन्द
काठमाडौं । स्थानीय तह निर्वाचन र सार्वजनिक बिदा धेरै परेका कारण मुलुकभरका सबै विद्यालय आज बुधबारदेखि ६ दिनसम्म बन्द रहने भएका छन् ।
विद्यालयहरुमा अब ६ दिनसम्म पठनपाठन नहुने भएको हो । निर्वाचनका लागि सरकारले सरकारी कर्मचारीलाई भने वैशाख ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको छ ।
विद्यालयहरुमा मतदान केन्द्र राखिएको, शिक्षकले निर्वाचनमा खटिनु परेको र मतदान गर्न विद्यार्थी आफ्नो ठाउँमा जानुपर्ने भएपछि विद्यालय भने झन्डै एक साता बन्द हुने भएको हो । सरकारले वैशाख २८ देखि ३० गतेसम्म विद्यालयमा सार्वजनिक बिदा दिन भनिसकेको छ ।
तर वैशाख ३१ गते शनिबार हो । जेठ १ गतेदेखि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेको छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले त्यस दिन पनि सार्वजनिक बिदा हुने छ ।
मुलुकभर हाल करिब २७ हजार सामुदायिक र करिब आठ हजार निजी विद्यालय छन् । कर्मचारीलाई निर्वाचनमा खटाइएको भए पनि सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र बिदा दिइएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख २८ बुधबार