त्रिविको बीआईटी कार्यक्रममा नयाँ भर्ना खुल्यो

भक्तपुर न्यूज

३० पुष २०७८ ८:५५

त्रिविको बीआईटी कार्यक्रममा नयाँ भर्ना खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को प्रवेश परीक्षाको अनलाइन फाराम खुलाएको छ ।

त्रिविले विज्ञान प्रविधि संस्थान अन्तर्गतका आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली अनुसार चार वर्षे कार्यक्रम बीआईटीमा भर्नाका लागि प्रवेश परीक्षाको आवदेन खुल्ला गरेको हो ।

आगामी माघ ३ गतेदेखि माघ २६ गतेसम्म आवेदन दिन सकिने छ । त्यस्तै दोब्बर दस्तुर तिरेर फागुन ४ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रवेश परीक्षाको आवेदन फाराम अनलाइनबाट मात्रै भर्न सकिने छ । प्रवेश परीक्षाका लागि संस्थानको वेबसाइट tuiost.edu.np मा गएर फाराम भर्न सकिन्छ ।

फाराम भर्न सकिने पेज माघ ३ गतेदेखि मात्रै लाईभमा हुनेछ । प्रवेश परीक्षाको शुल्क १५ सय तोकिएको छ, जुन ई-बैंकिङ, कनेक्ट आईपीएस र इसेवाबाट तिर्न सकिन्छ ।

कक्षा ११ र १२ मा जुनसुकै समूहबाट अंग्रेजी र १०० पूर्णाङ्कको गणित विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण भएका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउने छन् ।

कस्तो छ त्रिविको बीआईटी कोर्ष ?

त्रिविले २०७६ सालबाट नेपालमा बीआईटीको कोर्ष शुरू गरेको हो । बीआईटी कोर्ष हाल संस्थानका १२ वटा आंगिक कलेजबाट पढाइ हुनेछ ।

जसमा अमृत साइन्स क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पाटन बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, सिद्धार्थ साइन्स क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, वीरेन्द्र बहुमुखी क्याम्पस, रामसागर बहुमुखी क्याम्पस जनकपुर, पद्मकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन हुनेछ ।

बीआईटीका लागि प्रत्येक आंगिक क्याम्पसमा ३६ जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । त्रिविको बीआईटी कार्यक्रममा आईटी, अर्थशास्त्र, समाजशास्त्र, मार्केटिङ, साइकोलोजी जस्ता विषय समेटिएको छ ।

सेमेस्टरमा पढाई हुने बीआईटीमा प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ घण्टा तोकिएको छ । यसमा विद्यार्थीका लागि इन्टर्नशिप र इलेक्टिभ कोर्ष पनि व्यवस्था गरिएको छ । यो कोर्ष पढ्न ३ लाखभन्दा बढी शुल्क लाग्ने गर्दछ ।

पढेपछि कस्ता छन् रोजगारी अवसर ?

बीआईटी पढेपछि आईटीका विभिन्न पदमा रोजगारी पाउन सकिन्छ । वेब डेभलपर, सिस्टम एडमिनिस्ट्रेटर, डेटाबेस एडमिनिस्ट्रेटर, सफ्टवेयर टेस्टर, एप्लिकेसन प्रोग्रामर, एनालिष्ट प्रोग्रामर, बिजनेस एनालिष्ट, सिस्टम एनालिष्ट, सफ्टवेयर इन्जिनियरब लगायतमा रोजगारी पाउन सकिन्छ ।

प्रकाशित मितिः २०७८ पुुस ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *