पुरानो नक्सा छापेर बिक्री गरेका पुस्तक जफत गर्न शिक्षामन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । पुरानो नक्सा छापेर बिक्री गरेका पुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् ।
केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि बुधबार मन्त्री श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेका पुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ८८औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।
उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पनि भनेका छन् ।
तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्, उनले भने ।
प्रकाशित मितिः २०७८ जेठ २६ बुधबार