विद्यालय बन्द गर्नु समाधान होइन , सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
देशभर कोरोना भाइरसको संक्रमणको दोस्रो लहर बढ्दै गएको भन्दै शनिबार सीसीएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो।
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार विज्ञप्ति नै जारी गरेर विद्यालय बन्द गर्नुको सट्टा संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिएका हुन्।
गत वर्ष गरिएको लामो बन्दाबन्दीले विश्वका कतिपय मुलुकसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेको उल्लेख गर्दै उनीहरूले बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको बताएका छन्।
विगतको बन्दाबन्दीपछि विद्यालय सञ्चालन गर्न सरकार, शिक्षा मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरेर तयार पारेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको विज्ञप्तिमा उल्लेख छ ।
प्याब्सनले विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्नगराउन विशेष भूमिका निर्वाह गर्न पनि सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ। आफ्ना बालबालिकालाई संक्रमणबाट जोगिन मास्क तथा सेनिटाइजर प्रयोग गर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्यवर्धक खानपिन गराउनेजस्ता कार्यमा सहयोग पुर्याईदिन प्याब्सनले आम अभिभावकलाई अनुरोध गरेको छ ।
प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ ।