बर्डफ्लु रोक्न सतर्कता
काठमाडौँ। भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ।
बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टाइन कार्यालय र २४ पशु क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी सीमा क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भनेको हो। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरी शंकास्पद र जोखिम मानिएका पदार्थ, कुखुराको मासु र मासुजन्य पदार्थमा रोक लगाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताए।
काँकडभिट्टा, विराटनगर, जनकपुर, वीरगन्ज, काठमाडौं, भैरहवा, नेपालगन्ज र कञ्चनपुरको गड्डाचौकी क्वारेन्टाइन कार्यालय र उक्त कार्यालयमातहतका २४ चेक पोस्टलाई निगरानी बढाउन भनिएको हो। प्रवक्ता घिमिरेका अनुसार गत बुधबारदेखि लागू हुने गरी विभागले सम्पूर्ण क्वारेन्टाइन कार्यालय र क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी भारतबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ आयात हुन नदिन निर्देशन दिएको हो।
‘लुकीछिपी र चोरी तस्करी गरेर ल्याइने जिउँदो र मासुका रूपमा रहेका पोल्ट्री तथा पोल्ट्रीजन्य पदार्थ तत्कालै नियन्त्रणमा लिएर नष्ट गर्न निर्देशन दिएका छौं’, प्रवक्ता घिमिरेले भने । उनले भने, ‘यसबाहेक नेपालमा प्रवेश नै गरिहाल्यो भने नियन्त्रणका लागि पनि आवश्यक प्राविधिक टोली गठन गरी तैनाथी अवस्थामा राखेका छौं।’ यसबाहेक सीमा क्षेत्रका जिल्ला प्रशासन, प्रहरी कार्यालय, प्रदेशस्तरीय ट्राफिक कार्यालय, सीमा क्षेत्र सुरक्षा दल, भन्सार तथा स्थानीय तहलाई पनि पत्राचार गरिएको छ।
बर्डफ्लु भित्रिइहाले किसानलाई मारमा नपार्ने गरी सरकारले आवश्यक तयारी सुरु गरेको छ। प्रभावित हुने किसानलाई राहत उपलब्ध गराउने विषयमा बिहीबार अर्थ मन्त्रालयसँग छलफलपछि आवश्यक बजेट माग गर्ने विषयमा निर्णयसमेत भएको प्रवक्ता घिमिरेले बताए। उनका अनुसार लुकीछिपी र चोरी तस्करी गरेर ल्याइने जिउँदो र मासुका रूपमा रहेका पोल्ट्री तथा पोल्ट्रीजन्य पदार्थ तत्कालै नियन्त्रणमा लिएर नष्ट गर्न निर्देशन दिइएको छ ।
भारतका मध्यप्रदेश, महाराष्ट्र, राजस्थान, हिमाञ्चल, हरियाणा, केरला, गुजरातलगायत प्रदेशमा बर्डफ्लुका कारण १५ लाखभन्दा बढी चल्ला, कुखुरा, हाँस, परेवा नष्ट गरिएको छ। यसको संक्रमणबाट काग र बकुल्लासमेत प्रभावित भएर मरेका छन्। भारतको प्रभावित प्रदेश सरकारले कुखुरा र हाँसको मासु, अन्डालगायत बिक्रीमा प्रतिबन्ध लगाएका छन्। बर्डफ्लु एभियन इन्फ्लुएन्जाअन्तर्गतको एच फाइभ एन वनको कारण हुन्छ। अन्नपूर्ण पोस्टमा समाचार छ
प्रकाशित मितिः २०७७ पौष २५ शनिबार