कोभिडको सङ्क्रमणबाट निको भइरहेका बिरामीमा देखिँदैछ नयाँ फङ्गल रोग

भक्तपुर न्यूज

१० पुष २०७७ ११:३४

कोभिडको सङ्क्रमणबाट निको भइरहेका बिरामीमा देखिँदैछ नयाँ फङ्गल रोग

काठमाडौं । कोभिडको सङ्क्रमणबाट निको भइरहेका केही बिरामीमा नयाँ रोग देखापरिरहेको छ ।

फङ्गस ढुसीको सङ्क्रमणबाट हुने म्यूकरमाइकोसिस नामक रोगले भारतका धेरैजसो भागमा विनाश फैलाएको छ भने यसले प्रकोप लिन सक्ने सम्भावना पनि देखिएको छ । दिल्लीको सर गङ्गाराम अस्पतालका इएनटी सर्जनहरूले १३ जाना कोभिडका बिरामीमा म्यूकरमाइकोसिस भएको पत्ता लगाएका छन् । यस प्रकारका सङ्क्रमण अहमदावाद र मुम्बईमा पनि धेरै देखा पर्न थालेको छ ।

म्यूकरमाइकोसिस ९जसलाई पहिले जाइगोमाइकोसिस भनेर चिनिन्थ्यो एक गम्भीर फङ्गल इन्फेक्सन हो जुन म्युकरमाइसिटिस नामक मोल्डको समूहले गर्दा हुन्छ । शरीरको प्रतिरक्षा कमजोर पार्ने तथा जीवाणु र भाइरससँग लड्न असक्षम बनाउने स्वास्थ्य समस्या भएको मानिस वा औषधि सेवन गरिरहेको मानिसमा यो रोग प्रचलित छ ।

यो फङ्गल सङ्क्रमणले सामान्यतया साइनस, मस्तिष्क वा फोक्सोलाई असर गर्छ जसकारण यो सङ्क्रमण कोभिडबाट निको हुँदै गएका मानिसमा देखिन सक्छ । विज्ञहरूका अनुसार कोभिडले सङ्क्रमितको प्रतिरक्षा प्रणालीलाई लक्षित गरेको हुन्छ । कोभिड र म्युकरमाइकोसिस बीचको प्रमुख सम्बन्ध भनेको बिरामीहरूमा कमजोर प्रतिरोधात्मक क्षमताको अवस्था हो ।

कोभिड हुँदा प्रयोग गरिएको एन्टिभाइरलदेखि स्टेरोइडसम्मको कडा औषधिले भाइरसबाट पीडित वा निको भइरहेको व्यक्तिको प्रतिरक्षा प्रणाली घट्दै गएको छ । रोग नियन्त्रण र रोकथाम केन्द्र सिडिसीका अनुसार, शरीरमा फङ्गल सङ्क्रमणको स्थान अनुसार म्युकरमाइकोसिससँग सम्बन्धित लक्षणहरू फरक हुन सक्छ ।

अनुहारको एक साइड सुन्निने, ज्वरो, टाउको दुख्ने, नाक वा साइनस बन्द हुने, नाक र मुखको माथिल्लो भागमा कालो घाउ म्युकरमाइकोसिसमा देखिने लक्षण हुन् । त्यसबाहेक, पल्मोनरी म्युकरमाइकोसिस पीडित व्यक्तिहरूले ज्वरो, खोकी, छाती दुख्ने र सास फेर्न गाह्रो हुनेजस्ता लक्षण अनुभव गर्न सक्छन् जुन कोभिडको बिरामीमा पनि देखिने हुन्छ ।

यस दुर्लभ फङ्गल रोगका लागि कुनै खोप उपलब्ध नभए पनि सीडीसीले उक्त सङ्क्रमण सङ्क्रामक नभएको र निश्चित सावधानी अपनाएर यसलाई रोक्न सकिने दाबी गरेको छ । फङ्गगका कण स्पोर्स सिधै इनहेल गर्दा सङ्क्रमण हुने हुँदा यसलाई रोक्न महत्वपूर्ण हुन्छ । मास्कको प्रयोग गर्ने, वरपरको ठाउँलाई फङ्गसरहित राख्नुपर्छ, फङ्गल स्पोर्सहरूको खतरा भएका ठाउँबाट टाढा रहनाले म्युकरमाइकोसिस हुनबाट जोगिन सकिन्छ ।

साथै, कम प्रतिरक्षा प्रतिक्रिया भएका मानिसहरूलाई फङ्गल सङ्क्रमण हुने सम्भावना बढी रहेको हुँदा प्रतिरक्षा प्रणालीलाई नियमित रूपमा बढाउने कार्यमा ध्यान दिनुपर्छ ।

प्रकाशित मितिः २०७७ पौष १० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *