वैज्ञानिकहरूले मानिसको घाँटीमा भेटे एक नयाँ अंग

भक्तपुर न्यूज

६ कार्तिक २०७७ ७:१९

वैज्ञानिकहरूले मानिसको घाँटीमा भेटे एक नयाँ अंग

कठमाडौं । नेदरल्यान्ड्समा वैज्ञानिकहरूले मानिसको घाँटीमा एउटा नयाँ अंग फेला पारेका छन् । अनुसन्धाताहरूले क्यान्सरको स्क्यान गरिरहेको बेलामा घाँटीको माथिल्लो भागमा निकै भित्र यसअघि पत्ता नलागेका ग्लान्डहरू भेटे ।

उनीहरूले त्यसलाई ट्युबेरियल सालिभरी ग्लान्ड्स नाम दिएका छन् । यसले नाकभित्रको क्षेत्रलाई चिप्लो बनाइराख्ने अनुसन्धाताहरूको विश्वास छ ।क्यान्सरका रोगीहरूलाई विकिरणमार्फत उपचार गर्दा यी ग्लान्डहरू बचाएमा उनीहरूको जीवनस्तरमा सुधार ल्याउने अवसर मिल्ने अनुसन्धाताहरूले रेडियोथेरापी यान्ड अन्कोलोजी पत्रिकामा लेखेका छन् ।

एम्स्टर्ड्याममा रहेको नेदरल्यान्ड्स क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरूले पीएसएमए पीईटी–सीटी स्क्यानको परीक्षण गर्ने क्रममा अंग पत्ता लगाएका हुन् । उक्त स्क्यानले कम्प्युटेड टोमोग्राफी र पोजिट्रोन एमिसन टोमोग्राफी स्क्यानको सम्मिश्रण गरेर प्रोस्टेट क्यान्सर पत्ता लगाउँछ ।

त्यसका लागि चिकित्सकहरूले रोगीको शरीरमा रेडियोएक्टिभ ट्रेसर पसाउँछन् र त्यसको बाटो पत्ता लगाउँछन् । यसले प्रोस्टेट ट्युमरहरू पत्ता लगाउँछ अनि सालिभेरी ग्लान्ड टिस्यु पनि पत्ता लगाउँछ, लाइभ साइन्स पत्रिकाले लेख्यो । रोगीमा ट्रेसर पसाउँदा नाकपछाडिको क्षेत्र नेसोफ्यारिंक्समा दुई अनपेक्षित क्षेत्रहरू देखा परेका थिए ।

ग्लान्डहरू लगभग डेढ इन्च लामा थिए र मानव शरीरमा पहिलेदेख नै थाहा भएका सालिभेरी ग्लान्डहरू जस्तै देखिन्थे, रेडिएसन अन्कोलोजिस्ट वौटर भोगेलले बताए । अनुसन्धाताहरूले स्क्यान गरेका सबै १०० रोगीमा यी ग्लान्डहरू देखिए ।

प्रकाशित मितिः २०७७ कार्तिक ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *