होम आइसोलेसनमा बसेका संक्रमितको हेरचाह गरिरहेका व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू
काठमाडौं । होम आइसोलेसमा बसेका कोभिड संक्रमितको हेरचाह गरिरहेका व्यक्तिमा भाइरस संक्रमित हुने जोखिम पक्कै पनि बढी हुन्छ ।
संक्रमित व्यक्ति निको नभएसम्मको समयमा एकले बिरामीको ख्याल राख्नुका साथै आफैंलाई सुरक्षित राख्न पनि सावधानी अपनाउनु पर्ने हुन्छ । संक्रमितको हेरचाह गर्ने स्वस्थ व्यक्तिले भाइरसको सम्पर्कमा आउन सक्ने जोखिम कम गर्नका लागि सही सावधानी अपनाउनु आवश्यक छ । धेरैभन्दा धेरै शारीरिक दूरी कायम गर्नुपर्छ, जुन बन्द स्थानमा अलि गाह्रो हुन सक्छ ।
साथै, टाढा बस्नु भनेको संक्रमितले छोइरहने वा प्रयोग गरिरहने सामानबाट पनि टाढा बस्नु पर्छ भनेर बुझ्न जरुरी हुन्छ । सुत्ने कोठा, शौचालय तथा सामानहरूलाई सकेसम्म अलग्गै प्रयोग गर्नुपर्छ । संक्रमित व्यक्तिलाई छुट्टै कोठामा राख्दा उनीहरूलाई आवश्यक सबै चीज छ वा छैन भनेर निश्चित गर्नुपर्छ ।
यसले भाइरसको प्रसारलाई सीमित गर्छ । कोरोना भाइरसबाट संक्रमितलाई राम्ररी हावा पस्ने कोठामा राख्नु पर्छ । बस्ने ठाउँहरू छुट्याएर मात्र काम समाप्त हुँदैन । सानो लापरवाही पनि जोखिमयुक्त हुन सक्ने हुँदा खानपान र सरसफाइमा पनि ध्यान दिनु आवश्यक हुन्छ । संक्रमणबाट बच्न र सतहलाई कीटाणुमुक्त राख्न सरसफाइमा एकदम ध्यान दिनुपर्ने हुन्छ । दूषित सतहमा छोएपछि हातहरू राम्रोसँग धुएर र वरिपरि सफा राख्नुपर्छ ।
रोगीहरूले प्रायः शौचालयको ढोका, फोन, रिमोट र अन्य छोएका क्षेत्रलाई सफा र कीटाणुरहित गर्नु पर्छ । दिनमा पटक–पटक सफा गर्न सम्भव नभए दिनको कम्तिमा दुई पटक सफा गर्नु पर्छ ।
बिरामीसँग नजिकको सम्पर्कमा जानुपरे सधै मास्क तथा पन्जाको प्रयोग गर्नुपर्छ । संक्रमितलाई औषधि वा खाना दिन जाँदा पनि मास्क, पन्जा लगायतका सुरक्षाका सामग्री लगाएर मात्र जानुपर्छ ।
हेरचाह गर्ने मानिसले निश्चितरूपमा बिरामीलाई समर्थन र ध्यान दिन सक्दो प्रयास गर्नुपर्छ । तर, यस समयमा हामीले आफ्नै आवश्यकतालाई बिर्सनु हुँदैन । बिरामीका साथै हेरचाह गर्ने मानिसले पनि स्वस्थ खाना खाएर हाइड्रेटेड रहनु आवश्यक हुन्छ । खानामा भिटामिन सी, भिटामिन ए र जिंक जस्ता पौष्टिक तत्वहरूलाई थप्नुहोस् ।
स्वस्थ आहारले संक्रमणलाई छिटो निको पार्न मद्दत गर्छ । यस्तो जटिल अवस्थामा काम गरिरहँदा तनाव महसुस हुनु स्वाभाविकै हो । दिमागलाई खाली राखेर गाह्रो भएको महसुस भए साथी, नजिकका आफन्त तथा डाक्टरसँग कुरा गर्नुहोस् ।
प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार