अनलाइन कक्षा लिँदा आँखा जोगाउन ध्यान दिनुपर्ने कुराहरू
काठमाडौं । कोभिड–१९ का कारण विद्यालय बन्द भएपछि अहिले सरकारले वैकल्पिक सिकाइलाई प्राथमिकतामा राखेको छ। धेरै निजी तथा सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पढाइरहेका छन्। अनलाइन कक्षाले विद्यार्थीको आँखामा कत्तिको असर पुग्ला भन्ने चिन्ता अहिले आम अभिभावकमा बढ्न थालेको छ।
नेपाल दृष्टि विशेषज्ञ संघका प्रवक्ता दीपक कुमार साहका अनुसार अनलाइन कक्षालाई शिक्षा मन्त्रालयले मान्यता दिइसकेको अवस्थामा धेरै जसो विद्यालयहरुले अनलाइन कक्षालाई अझै सशक्त रुपमा अगाडि बढाइरहेका छन्।
दिनमा ४ देखि ६ घण्टाको विद्यालय अनलाइन कक्षा, त्यसपछिको २ देखि ३ घण्टाको अनलाइन गृहकार्य तथा नोट बनाउने र केही घण्टाको मोबाइल, टि.भी, ल्यापटप जस्ता विद्युतीय उपकरणको प्रयोग गरी औसतमा विद्यार्थीहरुले प्रत्येक दिन ८ देखि १० घण्टा डिजिटल स्क्रिन हेरेर बिताउने गरेका छन्। उनी भन्छन,‘यसरी लामो समयसँग स्क्रिनमा हेरिरहँदा आँखा पोल्ने, बिझाउने, आँसु बगिरहने कठिनाइ हुने जस्ता तत्काल तथा दीर्घकालीन समस्या देखिन सक्दछन्।’
त्यसैगरी एकनास रुपमा हेर्दा आँखा झिम्काई सामान्य अवस्थामा भन्दा न्यून हुन गई आखाँ सुक्खा हुने, थाक्ने तथा भारी महसुज हुने, स्क्रिनहरुबाट आउने विकिरणले गर्दा निन्द्रामा गड्बडी हुन सक्ने तथ्य पनि विभिन्न खोज अनुसन्धानले देखाइसकेको उनी बताउँछन्।
आँखा बचाउन के गर्नुपर्ला?
आँखामा देखिने समस्या समाधानको लागि अब अनलाइन कक्षा नलिने हैन तर, व्यवस्थित अनलाइन कक्षा सञ्चालन गर्नु यसको महत्वपूर्ण पक्ष हो। प्रवक्ता शाहका अनुसार आँखा बचाउन निम्न कुरा ध्यान दिनु जरुरी छः
१. कक्षा सत्र पिरियडको संख्या र समयावधिको हकमा
– प्राथमिक तह,पूर्व प्राथमिक (१ कक्षाभन्दा मुनिका) तहका विद्यार्थीका लागि एक दिनमा बढीमा ३० मिनेटको मात्र अनलाइन कक्षामा पढाउने
– १ देखि ८ कक्षाका विद्यार्थीका लागि एक दिनमा ४५ मिनेटको २ वटा कक्षा सत्र वा पिरियड जम्मा गरी डेढ घण्टाको अनलाईन कक्षामा पढाउने
–९ देखि १२ कक्षाका विद्यार्थीका लागि एक दिनमा ४५ मिनेटको ४ वटा कक्षा सत्र वा पिरियड जम्मा गरी ३ घण्टाको अनलाईन कक्षामा पढाउने
–१२ कक्षा भन्दा माथिका विद्यार्थीलाई एक दिनमा ४५ मिनेटको ४देखी ५ वटा कक्षा सत्र वा पिरियड जम्मा गरी ३ देखि ४ घण्टाको अनलाईन कक्षामा पढाउने
२. ४५ मिनेटको कक्षामा पालना गर्नुपर्ने शर्तहरू
–४५ मिनेटको कक्षालाई २० मिनेटको २ खण्ड गरी पढाउने र बीचमा ५ मिनेटको आरामको लागि विश्राम दिने
–५ मिनेटको आराम समयमा पानी पिउने, केही बेर २ मिनेट जति उभिने, आसन परिवर्तन गरी ३ मिनेट जति यताउता हिंड्ने र ५ देखि १० पटक आँखा झिम्काउने
३.अनलाईन कक्षाको लागि आवश्यक वातावरण
–उज्यालो कोठा (धेरै चम्किलो प्रकाश नभएको)
–हावा आवतजावत हुने कोठा
४.अनलाइन कक्षाको लागि बस्दा हुनुपर्ने आसनबारे
– डिजिटल उपकरण १८ देखि २४ इन्चको दुरीमा राख्ने
– कम्प्युटर स्क्रिनलाई आँखाको सतहबाट १५–२० डिग्री तल राख्ने,
– ढाड सिधा हुने गरी बस्ने या अगाडि कुप्रो नपर्ने
– बेडमा सुतेर, सोफामा पल्टेर वा धेरै नजिक बाट मोबाइल तथा कम्प्युटर स्क्रिन नहेर्ने
–आँखामा सिधा बाह्य प्रकाशका किरणहरु नपार्ने
– प्रत्येक २० मिनेटमा आफ्नो आसनको ख्याल गर्ने र सुधार्ने
आँखामा समस्या हुन नदिन यस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ
–दिनमा दुई पटक बिहान र बेलुका सफा र चिसो पानीले आँखा पखाल्ने
–दिनमा कम्तीमा २ देखि ३ लिटर पानी पिउने
–बिहानीपख तातो पानीमा सफा कपडा भिजाई निचोरेर आँखालाई सेक्ने
–डिजिटल उपकरणको प्रयोग गर्दा प्रत्येक २० मिनेटमा २० सेकेण्डको विश्राम लिने र २० फिट टाढाका वस्तुहरु हेर्ने
–दुई घण्टाको निरन्तर प्रयोगमा कम्तिमा १५ मिनेटको ब्रेक अनिवार्य लिने,
– समय समयमा आखाँ झिम्काउने,पुरै बन्द गर्ने र खोल्ने प्रक्रिया बारम्बार गर्ने तथा सुत्नुभन्दा कम्तिमा १ घण्टा अगाडि नै विद्धुतीय उपकरण हेर्न बन्द गर्ने
– एसी तथा पंखाको हावा आँखामा सिधा अगाडि नपार्ने वा सकेसम्म टाउकोको पछाडि पार्ने
–आँखाको दृष्टि धमिलो भए तथा टाउको दुख्ने समस्या भए आँखा जाँच गराउने विश्व स्वास्थ्य संगठनले पाचँ वर्ष मुनिका बालबालिकालाई एक घण्टा भन्दा कम समय मात्रै डिजिटल उपकरण प्रयोग गर्ने र पाचँ वर्ष माथिका बालबालिका लागि बारम्बार ब्रेक या विश्राम सहितको निर्देशित समयावधि (दिनमा २ देखि ३ घण्टा) मात्रै प्रयोग गर्नु उचित हुने सुझाव दिएको उनले जानकारी दिए।
प्रकाशित मितिः २०७७ असोज २१ बुधबार