सबै तहको परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति
काठमाडौं । कोरोनाको महामारीका रोकिएका विभिन्न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्ता परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहको सरकारले जारी गरेका सुरक्षाका मापदण्ड भने अपनाउनुपर्ने छ ।
ज्ञवालीले व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिएको बताए । तालिम प्रदायक संस्थाहरूले २५ जना संख्या नबढ्ने गरी तालिमका कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
त्यस्तै सरकारले गत वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको नियुक्ति प्रक्रिया पनि शुरू गर्ने निर्णय गरेको छ ।
प्रकाशित मितिः २०७७ असोज २१ बुधबार