कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम

भक्तपुर न्यूज

५ असोज २०७७ १०:०८

कोभिड निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिसको जोखिम

काठमाडौं । कोभिड संक्रमण भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिस देखिन थालेको रिपोर्टहरू सार्वजनिक हुन थालेका छन् । विशेषगरी कोभिड संक्रमण निको भएका व्यक्तिमा पल्मोनरी फाइब्रोसिससँगै फोक्सोसम्बन्धी अन्य समस्या देखिन थालेको हो ।

अध्ययनअनुसार कोभिडपछि पल्मोनरी फाइब्रोसिस देखिएका व्यक्तिमा संक्रमणअघि फोक्सोसम्बन्धी कुनै पनि समस्या देखिएकोे थिएन । हुन त कोभिड भाइरल पनि फोक्सोको संक्रमण नै हो । तर, कोभिड संक्रमण निको भएपश्चात् पनि के कारणले पल्मोनरी फाइब्रोसिस हुन्छ भन्ने अझै पुष्टि भइसकेको छैन । चिकित्सकहरूले संक्रमणको समयमा हुने निमोनियाबाट नै पल्मोनरी फाइब्रोसिस हुने अनुमान गरेका छन् ।

के हो पल्मोनरी फाइब्रोसिस ?

पल्मोनरी फाइब्रोसिस फोक्सोमा हुने समस्या हो । जसले फोक्सोमा भएका कोसिकामा दाग पैदा गर्छ । दागले अक्सिजनको मात्रा कम गर्ने हँुदा हिँड्दा, व्यायाम गर्दा सास फेर्न कठिनाइ हुन्छ ।

फोक्सोमा विभिन्न कारणले दाग हुन सक्छ । कोभिडका बिरामीमा पनि पल्मोनरी फाइब्रोसिस देखिएपछि यो कोभिड पनि यसको कारण हुन सक्ने चिकित्सकहरू बताउँछन् । मधुमेह, रक्तचापलगायतका दीर्घरोग जस्तै पल्मोनरी फाइब्रोसिसको पनि पूर्ण उपचार गर्न सकिँदैन । यसका लक्षणअनुसार उपचार र जीवनशैली परिवर्तनका माध्यमबाट सुधार ल्याउन सकिन्छ । पल्मोनरी फाइब्रोसिसका कारण तीव्र श्वासप्रश्वास र फोक्सो सुन्निने जोखिम पनि हुन्छ । अध्ययनहरूका अनुसार कोभिडका कारण जटिल स्वास्थ्य अवस्था भएका करिब ४० प्रतिशतभन्दा बढी व्यक्तिमा फोक्सो सुन्निने र तीव्र श्वासप्रश्वासको समस्या देखिएको छ । संक्रमित वयस्कहरू पल्मोनरी फाइब्रोसिसबाट बढी प्रभावित भएका छन् । यसलाई कोभिड संक्रमणको दीर्घकालीन असरको रूपमा समेत हेर्न थालिएको छ ।

फोक्सोमा दाग हँुदा हावाथैलीहरू बाक्लो र कडा हुँदै जान्छन् । फलस्वरूप रक्तप्रवाहमा अक्सिजनको मात्रा घट्दै जान्छ । पल्मोनरी फाइब्रोसिस कोभिडबाहेक अत्यधिक धुम्रपान, कडा निमोनियाको उपचार, एन्टी इन्फ्लेमेन्टरी मेडिकेसन, अटोइम्युन रोग, रेडिएसन र विभिन्न अन्य संक्रमणको कारणले हुन सक्छ ।

यसका लक्षणहरू व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुन्छन् । सामान्यतया कोभिड निको भएका व्यक्तिमा एउटै लक्षण देखिएको बताइएको छ । अधिकांशमा श्वासप्रश्वासमा समस्या, सुक्खा खोकी, थकान, औँलाको छालामा समस्या देखिन्छन् ।

प्रकाशित मितिः २०७७ असोज ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *