रिस नियन्त्रण गर्नसके हृदय रोगको सम्भावना कम

भक्तपुर न्यूज

२८ भदौ २०७७ १७:०३

रिस नियन्त्रण गर्नसके हृदय रोगको सम्भावना कम

काठमाडौ । मानिसलाई रिस उठ्नु स्वाभाविक हो तर अत्यधिक रिसाउने बानीले मानिसलाई हानी पुर्‍याउन सक्छ । यस्तो बेला मानिस आफैं सजग रहन सक्नुपर्छ । रिसलाई काबु गर्न सक्ने मानिसहरू मात्र आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनमा सफल रहन सक्छन् ।

रिसाई राख्ने मानिसमा विभिन्न शारीरिक र भावनात्मक समस्याहरू हुन सक्छ । रिसले मानिसमा उच्च रक्तचाप र नैराश्यता पनि निम्त्याउन सक्छ ।

अमेरिकास्थित राष्ट्रिय औषधि पुस्तकालय र राष्ट्रिय स्वास्थ्य संस्थानले २०१० मा गरेको एक अनुसन्धानअनुसार मानिसले आफ्नो रिसलाई रचनात्मक तरिकाले व्यवस्थापन र प्रयोग गर्न सक्छ ।

अनुसन्धानका अनुसार रिसलाई सही तरिकाले उपयोग गर्ने हो भने हृदय रोगको सम्भावना पनि कम गराउन सक्छ ।

रिसलाई काबुमा राख्न अनुसन्धानका यी उपायहरू अपनाउन सकिन्छः

रिस उठेको बेला तपाईंले आफूलाई संयमित राख्दै लामो श्वास लिनु पर्छ ।

छातिबाट भन्दा पनि पेटबाट श्वास फेर्न सक्यो भने मानिसको रिस चाँडो कम हुन्छ ।

तपाईंले आफूलाई मन पर्ने कुनै वाक्य दोहोर्‍याएर भनिरहन सक्नुहुन्छ ।

कुनै मन्त्र, कुनै वाक्य वा आफ्नो मोबाइल नम्बरलाई पटक–पटक भनिरहँदा रिस, नैराश्यतालाई कम गर्दै काबुमा राख्न सकिन्छ ।

मानिसले आफू रिसाएको बेला कुनै पनि सुन्दर ठाउँको कल्पना गर्ने हो भने पनि रिसलाई कम गर्न सकिन्छ ।

कुनै पनि चित्र, तस्बिर, आकृतिलाई सम्झँदै शरीर र मस्तिष्कलाई शान्त पार्न सकिन्छ ।

रिसाईरहेको मानिसले आफ्नो शरीरका अंगहरूलाई ध्यानपूर्वक कुनै तालमा हल्लाउनसके पनि रिस कम हुने अनुसन्धानले देखाएको छ ।

कुनै पनि गीतको तालमा वा योगका आसन गर्न सके पनि आफ्नो रिसलाई शान्त पार्न सकिन्छ ।

आफ्नो नजिकैको साथी वा परिवारका सदस्यहरुलाई आफ्नो समस्या निर्धिक्क भन्न सक्ने हो भने पनि मानिसको रिसाउने स्वभावमा कमी गर्न सकिन्छ ।

समस्याले नैराश्यता र रिस निम्त्याउने भएकाले सकभर समस्यालाई सहज तरिकाले हल गर्ने प्रयास गर्नुपर्छ ।

रिसलाई हास्यको साथ कम गर्न सकिन्छ । रिसाइरहेको बेलामा कुनै रमाइलो चिज सम्झेर मुस्कुराउन सकिन्छ ।

यसको मतलब आफ्नो समस्यालाई हाँसेर उडाउनुस् कदापी भनेको हैन तर आफूमा आइलागेको समस्यालाई सहज रूपमा लिँदै त्यसको उचित व्यवस्थापन गर्नसके रिसबाट उत्पन्न हुन सक्ने समस्याहरुबाट सजिलै टाढा हुन सकिन्छ ।

सम्भव भएसम्म रिसाएको स्थानबाट टाढा जानुहोस् ।

अध्ययनका अनुसार रिसाएको बेला तुरुन्तै स्थान परिवर्तन गर्ने हो भने पनि मानिसले रिसलाई आफ्नो काबुमा राख्न सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *