चितवनमा प्राकृतिक चिकित्साबाट कोरोना संक्रमितको उपचार गर्न थालियो
चितवन । भरतपुर महानगरपालिकाको आइसोलेशनमा प्राकृतिक चिकित्सा विधिबाट कोरोना भाइरस संक्रमितको उपचार गर्न थालिएको छ ।
भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना संक्रमण भएर लक्षण नदेखिएकालाई राखेर आइसोलेशन सञ्चालनमा ल्याएको हो ।
गत आइतबारबाट सुरु गरिएको आइसोलेशनमा हालसम्म ३१ जना संक्रमित छन् । चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेशनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ ।
बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस् पदार्थ खान दिइएको छैन । भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया सुरु गरिएको डा। कोइरालाको भनाइ छ । यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।
यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने उनले जानकारी दिए । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्ने उनको भनाइ छ ।
प्राकृतिक चिकित्सा विधिअन्तर्गत आइसोलेशनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ ।
कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परीक्षणपछि संक्रमितको अवस्थाको बारेमा गुनासा भए चिकित्सकसहितको टोलीले सुन्ने जानकारी दिए ।
आइसोलेशनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारीसहितको खाना खाएपछि केही समय आराम गर्न दिइन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारीसहितको पूर्ण भोजन गर्छन् ।
साँझ प्रार्थनापछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाइलो गर्ने गर्दछन् । साँझ ७:३० देखि ८ बजेसम्म दूध र बेसार खाएर सुत्ने कोइरालाले जानकारी दिए ।
चितवनमा संक्रमितको संख्या ८ सय ४७ पुगेको छ । जसमध्ये ५ सय २४ महानगरका छन् ।
प्रकाशित मितिः २०७७ भदौ १९ शुुक्रबार