कक्षा १२ को परिक्षा माेडल तयार पारिदै

भक्तपुर न्यूज

१८ भदौ २०७७ ४:२९

कक्षा १२ को परिक्षा माेडल तयार पारिदै

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा विद्यालयमै होमसेन्टर कायम गरी सञ्चालन गर्ने तयारी गरिरहेको छ।

पाँच महिनाअघि कोरोना महामारीको जोखिमका कारण स्थगित १२ को परीक्षा सञ्चालनबारे बोर्डले सरोकारवालासँग पटकपटक छलफल गरी परीक्षा सञ्चालनका विभिन्न विकल्पबारे सुझाव संकलनसमेत गरेको छ।

‘बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले माध्यमिक तह कक्षा १२ का मेचीदेखि महाकालीसम्मका विद्यार्थीहरू परीक्षार्थी रहेकाले अनलाइन परीक्षा सञ्चालन गर्न सम्भव नभएको बताउँदै बोर्डले होमसेन्टर, उपकेन्द्र तथा ओपन बुक परीक्षा प्रणालीका मोडलहरूसहितको उपयुक्त प्रस्ताव अघि सारेको बताए।

‘सरोकारवालसँग छलफल हुँदा नेपालको भौगोलिक अवस्थाका कारण अनलाइन सबैको पहुँचमा नहुने भएकाले यो माध्यमबाट परीक्षा गर्न नसकिने सुझाव आयो,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘चार हजार बढी कक्षा ११ र १२ पढाउने विद्यालय छन्।

४ लाख ३२ हजार विद्यार्थीका लागि होमसेन्टरबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त देखिएको छ।’ उनले थपे, ‘यसै साता परीक्षा सञ्चालनबारे मोडलहरूको सुझावसहित प्रतिवेदन बोर्डले शिक्षा मन्त्रालयमा बुझाउने तय भएको छ।’ यसका साथै उनले बोर्डले परीक्षाका नयाँ प्रणालीबारे समेत छलफल गरिरहेको बताए।

उनले २०७२ सालमा महाभूकम्पको समयमा चरणबद्ध रूपमा परीक्षा सञ्चालन गरिए जस्तै कक्षा १२ को परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्ने प्रस्ताव तयार भइरहेको जनाए। नागरिक दैनिकबाट ।

प्रकाशित मितिः २०७७ भदौ १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *