कोरोना : दर खाँदा स्वास्थ्यमा ध्यान दिऔं

भक्तपुर न्यूज

४ भदौ २०७७ ७:४६

कोरोना : दर खाँदा स्वास्थ्यमा ध्यान दिऔं

काठमाडौं । आज दर खाने दिन । भोलिको तीजको ब्रतलाई आज खाएको दरले भ्याउनुपर्ने हुन्छ । हिन्दू परम्पराअनुसार तीजमा ब्रत बस्नुभन्दा एक दिनअगाडि शरीरलाई कमजोर हन नदिनका लागि पोसिलो र स्वस्थ खानेकुराको सेवन गरिन्छ । तीज नजिकिएसँगै घरघरमा, टोलमा, साथीभाइदेखि कार्यालयमा समेत दर खान सुरु भइसकेको हुन्थ्यो । तर, यसपालि कोरोना भाइसरको कारण घरमै तीज मनाउनु पर्ने भएको छ ।

तीजमा जम्मा हुने, नाचगान गर्ने, दर खाने, बजारमा गएर सामान किन्ने, घरमा पाहुना बोलाउने, अरुकोमा पाहुना भएर जाने जस्ता गतिबिधिले संक्रमणलाई बढावा दिन सक्ने भन्दै विज्ञहरू चिन्तित छन् । त्यसैले योपालिको तीज घरमै रेडियो, टीभीमा गीत सुनेर हल्का र सधैझैँ सामान्य खाना खाएर, पाहुना नबोलाई र पाहुना भएर नजान आग्रह गरिएको छ ।

तीज धार्मिक परम्परासँग जोडिएको पर्व भए पनि तीजको अगाडि खाइने दर धर्म र परम्परासँग जोडिएको छैन । दिनभरि भोकै बसेर काम गर्न, नाच्न र रमाइलो गर्न नसकिने हुँदा तीजको ब्रत बस्नुअगाडि पोषिलो खानेकुराको सेवनले ब्रतको दिन सजिलो होस् भनेर दर खाने प्रचलन रहेको छ । ब्रत बस्ने अघिल्लो दिन दूध, घ्यूबाट बनेको, फलफूल र पोषिलो खानेकुराको सेवन गर्नु पर्छ ।

तर, पछिल्ला केही वर्षमा टोल, संस्था, होटल र छुट्टै समूह बनाएर पालैपालो हप्तौंसम्म अण्डा, माछा, मासु, रक्सीलगायतका खानेकुरासहितको दर खाने चलन बढिरहेको देखिन्छ । एक महिना अघिदेखि दर खाने, गरगहना र लुगाको प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको भान हुन्छ ।

माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण धेरै महिला घरमै छन् । त्ससैले योपालि घरमै दर खाने नाममा अपच हुने गरी सेवन गरेको भोजनले अम्लपित्त बढेर, फुड पोइसनिङ, झाडावान्ता तथा पेट दुख्ने समस्या भएर कोरोनाको संक्रमण फैलिएर अस्पताल जानुपरेमा थप जोखिम बढ्न सक्ने हुन्छ ।

साथै, धेरै परिकारको सेवन गर्दा शरीरमा धेरै नुनको मात्रा पुग्ने भएकाले उक्त रक्तचापको जोखिम बढ्न सक्छ । पानीसमेत नखाई ब्रत बस्दा शरीरमा पानीको कमी, कमजोरी, लो प्रेसर, ग्यास्ट्रिक, टाउको दुख्ने, छिट्टै रिसाउने, शरीरमा अल्छिपन आउने, महिनावारीमा गडबडी हुने, थाइराइड, बाथको रोगजस्ता समस्याहरू उत्पन्न हुने वा पहिले समस्या भएकाहरूमा थप बल्झिन सक्छ ।

मानिसले आफैंले नै बनाएको परम्पराले स्वास्थ्यमा हानी नगरोस भन्ने सोच राखेर शरीरको अवस्थालाई हेरेर पूरै दिन पानी नखाएरभन्दा पनि बेलाबेला पानी, फलफूल, जुस, दूध, मोही, दही, हलुवा तथा रोटी खाएर पनि ब्रत बस्न सकिन्छ । ग्यास्ट्रिक भएका, मधुमेहको समस्या भएका, गर्भवती, बच्चा तथा बृद्धहरूले ब्रत बस्दा बेलाबेला खाएर सावधानी अपनाउनु पर्ने हुन्छ ।

प्रकाशित मितिः २०७७ भदौ ४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *