सुरक्षित खानपानका लागि डब्ल्यूएचओको पाँच महत्वपूर्ण टिप्सहरू
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित खानपानका लागि पाँच महत्वपूर्ण टिप्सहरू सार्वजनिक गरेको छ ।
सधैं सफा रहनुपर्छ : खाना पकाउनुअघि, पकाइरहँदा र शौचालय गएपछि हात धुनु पर्छ । पकाउने ठाउँ, ग्यास र भाँडालाई पनि मज्जाले सफा गर्नुपर्छ । सूक्ष्म जीवहरू हातमा, सफा गर्ने कपडामा, भाँडामा, काट्ने बोर्डमा हुन सक्छन् । यी जीवहरू खानेकुरा तथा पेय पदार्थको सम्पर्कमा आएमा रोग लाग्ने खतरा हुन्छ ।
काँचो खानालाई पकाइएको खानाबाट टाढा राख्नुपर्छ : काँचो मासु, माछालाई खाना र पेयबाट अलग राख्नुपर्छ । काँचो खानालाई अलग चक्कु, काट्ने बोर्ड र अलग भाँडाको प्रयोग गर्नुपर्छ । काँचो मासु, कुखुरा उत्पादन, र समुद्री खानामा खतरनाक जीवाणुहरू समावेश हुन्छन् जुन खाना पकाउँदा अन्य खाद्य वस्तुहरूलाई संक्रमित गर्न सक्ने हुदा तयार खाना र काँचो खानालाई छुट्टै भाँडा राख्नुपर्छ ।
खानालाई मज्जाले पकाउनुपर्छ : विशेष गरी मासु, कुखुरा उत्पादन, अण्डा र समुद्री खानालाई राम्रोसँग पकाउनु पर्छ ।खानेकुरालाई ७० डिग्री सेल्सियस वा सोभन्दा धेरै तापक्रममा पकाउनु पर्छ । पकाइएको खाना खानु अगाडि फेरि एकपटक तताएर खानुपर्छ । यदि खाना राम्रो पकाइएको छ भने सबै सूक्ष्मजीवहरू पूर्ण रूपमा नष्ट हुन्छन् ।
सुरक्षित तापक्रममा खानालाई राख्नुपर्छ : पाकिसकेको खानालाई कोठाको सामान्य तापक्रममा राख्दा सुक्ष्म जीवहरू द्रुत रूपमा बढ्न सक्छन् । पकाइएको खानालाई दुई घण्टा भन्दा बढी कोठाको तापक्रममा राख्नु हुँदैन । तयार खाना र छिट्टै बिग्रिने खानाहरूलाई फ्रिजमा राख्नुपर्छ । खाना खानु खानालाई पहिले उच्च तापमा तताउनुपर्छ । फ्रिजमा धेरै लामो समय सम्म खानेकुरा राख्नु हुँदैन ।
सफा पानी र सफा खाद्य सामग्रीको प्रयोग गर्नुपर्छ : पानीमा माइक्रोब वा केही हानिकारक पदार्थहरू हुन सक्छन् । त्यसैले, सफा पानीको प्रयोग गर्नुपर्छ र यदि यो उपलब्ध छैन भने सुरक्षित प्रयोगको लागि पानीलाई सफा गर्नुपर्छ । साथै बिग्रेका तथा बासी खानामा विषाक्त रसायनको उत्पादन हुने खतरा धेरै हुन्छ । त्यसैले, ताजा र पौष्टिक खानाहरू प्रयोग गर्नुपर्छ । कहिले पनि मिति समाप्त भएको खाना र पेय वस्तुहरू प्रयोग गर्नु हुँदैन । फल र तरकारीहरूलाई खानु अगाडि धुनुपर्छ ।