झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’
काठमाडौं । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।
महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट बर्सेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए । उनका अनुसार बर्सेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।
बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले उक्त खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उनका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ ।
उक्त खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाइने छन् । बालबालिकालाई उक्त खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ ।
‘एक बालबालिकालाई वर्षको दुईदेखि तीन पटक पखाला लाग्ने गरेको छ’, उनले भने, ‘पखालले गर्दा बच्चाको शरीरमा भएको पानी सकिन्छ ९जलवियोजन० जसले गर्दा बच्चाको मृत्यु नै हुन्छ । त्यसैले पखाला रोक्न खोप दिइन थालेको हो ।’
अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट उक्त खोपको शुरुआत गरिने शाखाका प्रमुख डा गौतमले बताए । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।
प्रकाशित मितिः२०७७ असार १२ शुक्रबार