राहत नपाएपछि शुल्क माग्दै निजी विद्यालय
काठमाडौँ । निजी विद्यालय सञ्चालकले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ति जारी गरी २०७६ को बाँकी बक्यौता चुक्ता गर्न आग्रह गरेका छन् । त्यस्तै, विज्ञप्तिमा २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गरी विद्यालयलाई सहयोग गर्न भनिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयहरु चैत पहिलो साताबाटै बन्द छन् । सरकारले विद्यालयहरुलाई चैत महिनाको शुल्क नलिन तथा अनलाइन कक्षाका नाममा कुनै शुल्कसमेत लिन नपाइने भनेको छ ।
कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेकाले शुल्क तिर्न आग्रह गरिएको प्याब्सनको दाबी छ ।
सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ ।विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्न समेत उनीहरूले अभिभावकलाई आग्रह गरेका छन् । सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक हप्तामै विद्यालय सञ्चालकहरूले २०७७ सालको शुल्क तिर्न आग्रह गरेका हुन् । वैशाख, जेठमा केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चलन गरे पनि औपचारिक रुपमा पढाउन सुरु भएको १ असारदेखि हो ।
प्रकाशित मितिः२०७७ असार ०७ आइतबार