नोभल कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेहरुको संख्या ६ पुग्यो

भक्तपुर न्यूज

२० फागुन २०७६ ११:१६

नोभल कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेहरुको संख्या ६ पुग्यो

काठमाडौँ । विश्वभरी त्रासमा रहेको नोभल कोरोना भाइरस (कोभिड-१९) बाट अमेरिकामा मर्नेहरुको संख्या ६ जना पुगेको छ । भाइरस संक्रमितको संख्या पनि एक सय पार भएको छ । सोमवार वाशिङटन राज्यको विभिन्न क्षेत्रमा चार जनाले कोरोनाकै कारणले ज्यान गुमाएका छन् ।
यो संख्या अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । संक्रमित र मर्नेको संख्या बढेसँगै कोरोना भाइरस रोक्नको लागि समेत सतर्कता अपनाइएको छ । अमेरिकामा अहिलेसम्म मृत्यु हुनेहरु सबै वाशिङ्टन राज्यको रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण बढेसँगै अमेरिकाले विदेशबाट भ्रमणको लागि प्रतिबन्ध लगाउने, विद्यालयहरु बन्द गरेको छ । समग्रमा पनि अमेरिका सरकारले आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ ।

शनिबार र आइतबार मात्र अमेरिकामा दुई दर्जनभन्दा बढी कोरोना भाइरसको संक्रमण पाइएको थियो । साथै यो अवधिमा दुईजनाको ज्यान गएको थियो । अमेरिकामा यो भाइरसबाट संक्रमितको संख्या पनि एक सय २ पुगेको छ । विश्वभर यो भाइरसबाट मर्नेको संख्या ३ हजार नाघिसकेको छ भने भाइरस ५० भन्दा बढी मुलुकमा फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको संकटकाल

यस अघि नै विश्व स्वास्थ्य संगठनले विश्वमा कोरोना भाइरसको संक्रमण सुरु भए लगत्तै स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । नेपाल सहित १९६ मुलुक पक्ष राष्ट्र भएको इन्टरनेसनल हेल्थ रेगुलेसन ९२००५० सन्धिको मापदण्ड अनुसार कोरोनाको कारण २१६ जनाको ज्यान गएपछि संगठनले यस्तो घोषणा गरेको थियो ।

स्वास्थ्य संकटकालको लागि खासगरी जनस्वास्थ्यमा ‘गम्भीर, अचानक, असमान्य र अप्रत्यासित’ अवस्था देखा परेर त्यसलाई अन्तराष्ट्रिय रुपमा सम्बोधन गर्नुपर्ने अवस्था आएको खण्डमा मात्रै विश्वभरी स्वास्थ्य संकटकाल घोषणा गर्ने पद्धति रहेको छ ।

स्वास्थ्य संकटकालको विगत

विश्वमा स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयले ‘कोरोना भाइरसको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपायहरू खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रुपमा सहकार्य गरिरहेको’ धारणा सार्वजनिक गरेको तीन दिनपछि नै संगठनले ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको थियो ।

संगठनको यो छैटौं स्वास्थ्य संकटकाल घोषणा हो । सन् २००९ मा स्वाइन फ्लु (एचवानएनवान), २०१४ मा पोलियो र २०१४ मै इबोला, २०१६ मा जिका भाइरस र २०१८ मा किभु इबोलाका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो । २०१८ को स्वास्थ्य संकटकाल घोषणापछि निकै विवादित पनि बन्यो ।

विगतको तुलनामा संकटकाल घोषणा गर्न विश्व संगठन हतारिएको एकथरी विज्ञहरूको बुझाइ छ । उनीहरूका अनुसार संक्रमितमा तीन प्रतिशत मृत्युदर भएको भाइरस लाग्दैनमा संकटकालकै तहमा पुग्नु आवश्यक थिएन ।

कोरोनाका कारण मृत्युहरू अधिकांश रोग प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र बालबालिका छन् । यो घोषणाले कोरोना भाइरसको संक्रमण भएपछि मृत्यु नै हुँदोरहेछ भन्ने सन्देश गएको उनीहरूको भनाई छ ।

प्रकाशित मितिः २०७६ फागुन २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *