क्याम्पसलाई मन्त्रिपरिषद्बाटै सम्बन्धन
काठमाडौं । सरकारले विश्वविद्यालयको क्षेत्राधिकार मिचेर क्याम्पसलाई कार्यक्रम थपका नाममा सम्बन्धन बाँडिरहेको छ । पछिल्लोपटक गत फागुन १२ को मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित ख्वप कलेज अफ इन्जियिरिङलाई बीई कम्प्युटरमा नयाँ कार्यक्रम अध्ययन गराउन स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्ले यसअघि माघ २७ मा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत थापाथली क्याम्पसलाई बीई अटोमोबाइल र बीई आर्किटेक्चरमा ४८/४८ विद्यार्थी अध्यापन गराउन अस्थायी स्वीकृति दिएको थियो ।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाका अनुसार ख्वप कलेजलाई ४८ जना विद्यार्थी अध्यापन गराउन अस्थायी स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
तत्काललाई सम्बन्धन नदिने निर्णय फुकुवा नहुँदै मन्त्रिपरिषद्ले नै ख्वप कलेजलाई नयाँ कार्यक्रम अध्यापन गर्न अनुमति दिएको हो । मन्त्रिपरिषद्ले २०७५ साउनमा अर्को निर्णय नभएसम्म क्याम्पसहरूलाई सम्बन्धन दिन रोक लगाएको थियो ।
उच्चस्तरीय शिक्षा आयोगलगायत विज्ञ सम्मिलित विभिन्न कार्यदलले पनि सम्बन्धन रोक्न सिफारिस गर्दै आएका छन् । प्रस्तावित उच्च शिक्षा विधेयकमा समेत केन्द्रीय विश्वविद्यालयले सम्बन्धन दिन नपाउने व्यवस्था छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित ख्वप कलेजलाई मन्त्रिपरिषद्बाटै थप विषय सञ्चालन गर्न स्वीकृति दिइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार