घुस लिने प्रधानाध्यापक पक्राउ
दैलेख । दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । भैरव मावि नौमुलेका प्र.अ नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।
प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक(पटक शिक्षकसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले तीस हजार घुस लिइसकेको अवस्थामा सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित मितिः २०७६ फागुन १५ बिहीबार