यस्ता छन् सख्खर खानुका फाइदै फाइदा
काठमाडौं । सख्खर विभिन्न काममा प्रयोग हुने बहुउपयोगी खाद्य पदार्थ हो । यो उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रमसम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ । त्यसलाई पनि थप ताप दिएर पकाएपछि बन्ने परिकार आफैंमा एक बहुउपयोगी परिकार हो ।
प्राचीनकालदेखि नै सख्खरको महिमाबारे धेरै वर्णन पाइन्छ । कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरुले विविध बिरामीलाई निको पार्नको लागि समेत यसको प्रयोग गर्ने गरेका हुन्छन् । पछिल्लो समय तराईका विभिन्न ठाउँहरुमा सख्खर मदिरा बनाउने काममा पनि प्रयोग गर्ने गरिएको छ । यसका साथै यसको प्रयोग पानीमा मिसाएर खानेदेखि अन्य विभिन्न काममा प्रयोग गर्ने गरिन्छ ।
सख्खर शब्द अरबी शव्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको समेत तराई भेगमा यसलाई गुंड शब्दले चिन्ने गरिन्छ । जसको अर्थ चिनी भन्ने हुन्छ । यही सख्खर शब्दको नामबाट पाकिस्तानको सिन्ध प्रदेशको एउटा शहरको नाम नै ‘सख्खर’ समेत राखिएको छ । त्यहाँ धेरै उखु खेती हुने भएकोले त्यो शहरको नाम नै सख्खर राखिएको हो ।
किन महत्वपूर्ण छ सख्खरको खपत ?
सख्खरको खपत यसको केही सकारात्मक पक्षहरुसँग सम्बन्धित छ । मानव स्वास्थ्यमा यसले विभिन्न किसिमको सकारात्मक कुराहरुको सञ्चार गर्ने गर्छ । मानव स्वास्थ्यमा सख्खरको महत्वलाई यसरी चित्रण गर्न सकिन्छ ।
१. सख्खर खाँदा ग्यास्ट्रिकको समस्या रहँदैन ।
२. खानापछि प्रायः गुलियो खानेकुरा खानेमन धेरैको हुन्छ । यसको लागि विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।
३. पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।
४. सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ । यसले ग्यास्ट्रिक कम गराउन मद्दत गर्छ । कसैलाई ग्यास्ट्किको समस्या छ भने तिनीहरूले खाजा वा खानापछि थोरै भएपनि सख्खर खाने गर्नुपर्छ ।
५. सख्खर शरीरमा आइरन(फलाम) को स्रोत पनि हो । त्यसैले एनिमियाका बिरामीहरूका लागि यो धेरै फाइदाजनक हुन्छ । विशेषगरी महिलाहरूको लागि, यसको सेवन एकदम महत्वपूर्ण मानिन्छ ।
६. छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।
७. सख्खर स्वभावैले सर्दी स्वभावको हुन्छ । त्यसैले यसको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
८. उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।
९. सख्खरले शरीरको तापक्रम नियन्त्रण गर्छ । यसमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।
१०. शरीरका अंगहरुको संयुक्त दुखाईबाट छुटकारा पाउनको लागि अदुवाको साथमा सख्खरको टुक्राका साथ प्रतिदिन सेवन गर्नाले तीब्र रुपमा हुने दुखाई कम हुन्छ ।
एक पाउ ज्वानो र एक पाउ सखरको धुलो मिसाएर औषधि तयार पार्नुहोस् । हरेक दिन बिहान–बेलुका तातोपानीसँग एक–एक चम्चा सेवन गर्नुहोस् । कम्मर दुख्ने समस्याबाट राहत मिल्छ ।
– दुई दाना फुराएको मरिच पिनेर मसिनो पाउडर तयार पार्नुहोस् र एक चम्चा सखरमा मुछेर स–साना गोली तयार पार्नुहोस् । यस्ता गोली दिनमा तीन–चारवटा चुस्ने गर्दा अड्किएको कफ निकाल्न सहज गराउँछ ।
– पाँच–सात दाना जिरा पानीमा राखेर पकाउनुहोस् । त्यही पानीमा सखर राखेर चियाजस्तै गरी दिनमा तीन–चारपटक खानुहोस् । पुरानो ज्वरो निको हुन्छ ।
– आधा चम्चा भुटेको रायोको धुलोमा सखर राखेर एक चम्चा बनाउनुहोस् र एक गिलास मनतातो पानीसँग निल्नुहोस् । पेट दुखेको वेला यसले आराम दिन्छ ।
– ज्वानो र सखरको धुलो मिसाएर एक चम्चा बनाउनुहोस् । यसलाई पानीमा राम्रोसँग उमालेर पिउनाले घाँटी बसेको समस्यामा राहत दिन्छ ।
– भुटेको ज्वानो र सखर मिसाएर लड्डु बनाउनुहोस् । यसलाई मिस्रीपानीसँग मिलाएर दुई सातासम्म नियमित सेवन गर्दा शरीर दुखेको निको हुन्छ ।
– पिसाब पोल्ने समस्या तथा जन्डिस भएकाले पनि सानो टुक्रा सखर पानीमा मिसाएर सेवन गर्दा औषधिको काम गर्छ ।
प्रकाशित मितिः २०७६ फागुन ०८ बिहिबार