जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

भक्तपुर न्यूज

२७ माघ २०७६ ९:२५

जैमिनीका सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

गलकोट । नेपाल सरकारले ल्याएको सामुदायिक विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण गर्ने योजना कार्यान्वयन हुन थालेको छ । सरकारले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि पारित गरेको दुई महिनापछि बागलुङको जैमिनी नगरपालिकाभित्र अध्ययनरत छात्राले सेनेटरी प्याड प्राप्त गरेका छन् । चालू आर्थिक वर्षबाट सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी सरकारले बजेट विनियोजन गरेको थियो ।

जैमिनी नगरपालिकाको शान्ति माध्यामिक विद्यालयका छात्रालाई प्याड वितरण गरी नगरपालिकाले सामुदायिक विद्यालयमा प्याड वितरण कार्य शुभारम्भ गरेको हो । उक्त विद्यालयमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष मेलिना चापागाईलाई आइतबार नगरपालिकाका उपप्रमुख लीला रानाले एकमुष्ठ सेनेटरी प्याड हस्तान्तरण गरेर नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा प्याड वितरण कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।

 सो नगरपालिकास्थित सामुदायिक विद्यालयका एक हजार ७८७ छात्रालाई मासिक १६ वटाको दरले प्याड वितरण हुने जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेम आचार्यले जानकारी दिए ।

महिनावारीको समयमा हरेक ६ घण्टामा प्याड परिर्वतन गर्नुपर्ने भन्दै दैनिक ४ वटाका दरले महिनाको १६ वटा वितरण गरिने उनको भनाइ थियो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या समधानका लागि सरकारले थालेको अभियान सफल बनाउन नगरका सबै विद्यालयमा महिला शिक्षकलाई सम्पर्क व्यक्ति तोकिएको आचार्यले बताए ।

सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ देखि १२ सम्मका १४ लाख ३६ हजार छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने गरी रु एक अर्ब २७ करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः २०७६ माघ २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *