सीडीएमए सेवा बन्द गर्दै नेपाल टेलिकम

भक्तपुर न्यूज

२३ माघ २०७६ ६:५२

सीडीएमए सेवा बन्द गर्दै नेपाल टेलिकम

काठमाडौं । ग्रामीण क्षेत्र लक्षित नेपाल टेलिकमको कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) सेवा बन्द हुने भएको छ । विश्वव्यापी रूपमै सीडीएमए प्रविधिको विकास रोकिएकाले यसको सेवा बन्द गराउने प्रक्रिया अगाडि बढाइएको टेलिकमले जनाएको छ । करिब १५ वर्ष पुरानो उक्त सेवा बन्द गरेर त्यसका हाल कायम ग्राहकलाई फोरजीमा रुपान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

बुधबार कम्पनीको १६औं वार्षिकोत्सवका अवसरमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको वायरलेस सेवामा एकरुपता ल्याउने उद्देश्यसहित यो सेवा बन्द गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षभित्रै सेवा बन्द गरेर त्यसका ग्राहकलाई पछिल्लो पुस्ताको फोरजी ग्राहकका रुपमा रुपान्तरण गरिने छ ।

टेलिकमले सन् २००५ मा पहिलोपटक सीडीएमए सेवाको ‘सफ्ट लन्च’ गरेको थियो । त्यसअघि यो सेवामा नेपालमै पहिलोपटक युनाइटेड टेलिकम (यूटीएल)ले सन् २००२ मा सुरु गरेको थियो ।

हाल प्रचलनमा रहेको जीएसएम मोबाइल सेवाको पहुँच विस्तार नभएका स्थानमा तत्काल नै सञ्चार सम्पर्क स्थापित गराउन सीडीएमए सेवा त्यतिबेला प्रभावकारी बनेको थियो । सीडीएमका लागि तोकिएको फ्रिक्वेन्सी धेरै भागमा फैलाउन सकिने भएकाले नेपालमा दूरसञ्चार पहुँच विस्तारमा यसको महत्त्वपूर्ण भूमिका रहेको थियो । दूरसञ्चार प्राधिकरणका अनुसार अहिले नेपाल टेलिकमका करिब १७ लाख सीडीएमए प्रयोगकर्ता छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *