माइनस डिग्रीमा एसइई को तयारी गर्न विद्यार्थीलाई सकस
सिमकोट । आगामी चैत्र महिनामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ( एसइई ) को तयारी गर्दै गरेका विद्यार्थीहरुलाई चिसोको सास्ती खेप्नु परेको छ ।
पटक पटक गरि लामो समयसम्म हिमपात हुँदा तापक्रम माइनस पुगेपछि बिहान बेलुका परीक्षाको तयारीका लागि ट्युसन कक्षा पढिरहेका विद्यार्थीहरुलाई चिसोले सताएको हो ।
बिहानै माइनस तापक्रममा एसइईको तयारीका लागि ट्युसन पढ्न निक्कै कठिन भएको मानसरोवर माविका विद्यार्थी सुनाम छैकित लामाले बताइन् । चिसोले थरथरी कामेर विद्यार्थीले तयारी कक्षामा अध्ययन गर्नु परिरहेको उनले सुनाइन । बाक्ला खाले कपडा लगाएको भएपनि चिसो धेरै भएकोले जाडो नथेगेको उनले बताइन् । कठ्याङ्ग्रिदो जाडोमा थुरथुर शरीर काँपेर पढ्न परिरहेको उनले बतान् ।
चिसोले ध्यान अन्त जाने भएका कारण कहिलेकाहीँ त पढेको पनि नबुझिने उनी बताउँछन् । कक्षा कोठा बाहिर सेताम्मे हिउँ भित्र चिसोमा पढ्न विद्यार्थीहरुको बाध्यता रहेको छ ।
१२० जना विद्यार्थीहरुलाई अंग्रेजी बिषय अध्यापन गराई रहेका मान सरोवर माविका प्रधानाध्यापक अमर बहादुर शाहीले चिसोको कारण यस वर्ष विद्यार्थी र शिक्षक दुवैलाई कठिन भएको बताए ।
हुम्ला लगायतका क्षेत्रमा यस वर्ष पटक पटक गरि आठ पटक हिमपात भै सकेको छ । तापक्रम माइनस १७ डिग्रीसम्म पुगेको थियो । यस पटकको एसइई परीक्षामा हुम्ला जिल्लाबाट ८१२ जना विद्यार्थीहरुले सहभागिता जनाउदै छन् ।
प्रकाशित मितिः २०७६ माघ २० सोमबार