गुल्मी र पाल्पाका टेलिफोन टावरमा आगजनी
बुटवल । गुल्मी र पाल्पामा फोनका टावरमा आगजनी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा गएराति आगजनी भएको हो । करिब पाँच वर्षदेखि धुर्कोटकोट नजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर संचालन भएको वडाध्यक्ष कृष्ण बहादुर नेपालीले बताए ।
घटनास्थलमा वस्तु प्रहरीचौकीबाट असई लोकमान ताम्राकारको टोली पुगिसकेको छ । ताम्राकारका अनुसार राती करिब ११ बजे आगो लागेको हो । टावरको ओडिबक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क पूर्णरुपमा अवरुद्ध भएको छ ।
घटनाका विषयमा प्रहरी प्रशासनलाई जानकारी भइसकेकोले कसले आगो लगाएको हो भन्ने विषयमा थप अनुसन्धान अगाडि बढ्ने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
कोटमा अन्य संचार माध्यमका टावर तथा संचार उपकरण भएपनि कुनै क्षति नभएको पोख्रेलले बताए । यस्तै पाल्पाको बगनासकाली गाउँपालिका ९, बगनासमा रहेको एनसेल टावरमा आगजनी भएको छ ।
आइतबार बेलुकी ९ः४५ को समयमा बगनासको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए । आगजनीका कारण टावर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ ।
आगजनीको कारण टावरको जेनेरेटर, विटिएस सिस्टम, जिएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित तार पूर्णरुपमा जलेको छ ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार