सामुदायिक विद्यालयका विद्यार्थीका लागि गाउँपालिकाले चलायो स्कुल बस
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराजले शुक्रबार वडा नम्बर १ कट्कुइँयामा स्कुल बसको उद्घाटन गरे। सांसद गहतराजले स्कुल बस सञ्चालनपछि विद्यार्थीलाई सहज हुने बताए।
सांसद गहतराजले आफ्ना बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गरे। नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना विद्यालयको रुपमा विकास गरिने बताए। उनले प्राविधिक विषयको पढाइ सुरु गर्ने प्रयास भइरहेको पनि जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले शिक्षा समग्र विकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताए। विद्यालयमा विद्यार्थीको संख्या बढाउन स्कुल बस सञ्चालन गरेको उनको भनाइ थियो।
शिक्षामा सुधार नगर्दासम्म नरैनापुर पछि परिरहने भन्दै शैक्षिक सुधारका लागि आफूलाई साथ दिन आग्रह गरे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए।
विद्यालयदेखि टाढा रहेका बालबालिकालाई गाउँपालिकाले सञ्चालन गरेको बसले निशुल्क ल्याउने लैजाने गर्दछ।
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार