वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न समिति गठन
काठमाडौं ।वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्नसमिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो । समितिलाई यथाशीघ्र घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन दिन जिल्ला प्रशासन कार्यालयका प्रमुखले निर्देशन दिनुभयो ।
नेसनल मेडिकल कलेज वीरगन्ज शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । शनिबार कलेज र प्रशासनबीच यस विषयमा छलफल भएको थियो ।
छलफलमा कलेजको पठनपाठन सञ्चालन गर्ने कुरा उठे पनि विद्यार्थीले शुल्क सम्बन्धी समस्या समाधान हुनुपर्ने माग राखेका थिए । नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन् ।
शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो ।
प्रकाशित मितिः २०७६ मंसिर ८ आइतबार