शिक्षिकामाथि मानसिक यातना दिएको आरोपमा प्रधानाध्यापक पक्राउ
काठमाडौं । काठमाडौं असनको त्यौड माविका शिक्षिकामाथि मानसिक यातना दिएको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसी पक्राउ परेका छन् । सुत्केरी बिदा नदिई उल्टै मानसिक यातना दिएको आरोपमा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो ।
प्रअ केसीले चिकित्सकको सिफारिसअनुसार बिदा माग गर्दा उल्टै मानसिक यातना दिएको भन्दै पीडित अर्यालले भदौ २२ मा प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएको १५ दिनपछि प्रहरी परिसरले केसीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका प्रअ केसीलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
विद्यालयबाट बिदा स्वीकृत नहुँदा संवेदनशील अवस्थामा पनि विद्यालय आउजाउ गर्नुपरेको थियो । केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै शिशुको मृत्यु भएको भन्दै अर्यालले भदौ २२ मा प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रकाशित मितिः २०७६ असोज ६ सोमबार